लोकप्रिय नेता धनराज गुरुङलाई देउवाले अन्तिममा धोका दिए

Advertisement

काठमाडौं । लोकप्रिय नेता धनराज गुरुङलाई उनकै पार्टीका सभापति शेरबहादुर देउवाले धोका दिएका छन् । कास्की–२ को उम्मेदवार बनाउँछु भनेर आश्वासन दिँदै आएका देउवाले अन्तिम समयमा आएर आफ्नो खेमराज पौडेललाई रोजेपछि काँग्रेस नेता कार्यकर्ताहरुमा देउवाको चर्को आलोचना भएको छ ।

पछिल्लो समयमा गुरुङ आफ्ना पार्टीपङ्तीदेखि जनतामाझसमेत लोकप्रिय रहेकाले उनलाई नै कास्की–२ को उपनिर्वाचनको टिकट दिन काँग्रेस नेतृत्वलाई दबाब परेको थियो । गुरुङ समुदायको बाक्लो उपस्थिति रहेकाले समेत उक्त क्षेत्रबाट चुनाव जित्नसक्ने सशक्त व्यक्तिको रुपमा धनराज गुरुङलाई हेरिएको थियो ।

तर बुधबार बिहान अनलाइनमा एकाएक पौडेलको नाम पक्का भएको खबर छाएपछि गुरुङ अचम्मित भएका थिए । पटक पटक टिकटको बचन दिएका देउवाले मंगलबार पनि आफ्नो निवासमा बोलाएर गुरुङलाई आश्वासन दिएका थिए । रातारात देउवा किन परिवर्तन भए ? भन्ने कुरा रहस्यमय बनेको काँग्रेसकै कार्यकर्ताहरु बताउँछन् ।

देउवाको आलोकप्रिय क्रियाकलाप र बोलीका कारण यसअघिको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको भन्दै उनले नैतिकरुपमा पदमा बसिरहन नमिल्ने आवाज उठिरहेको बेला उपनिर्वाचनमा पनि नजिता राम्रो नआउने संकेत देखिएको छ । गुरुङले आफू उम्मेदवार हुने निश्चित ठानेर तयारीसमेत गरिरहेका थिए । उनी रामचन्द्र पौडेलसँग नजिक रहेकाले देउवा आफ्नो बचनबाट पछि हटेको हुनसक्ने अनुमान गरिएको छ ।

चुनाव जित्नसक्ने एक मात्रै उम्मेदवारको रुपमा हेरिएका व्यक्तिलाई टिकट नदिएको विषयमा काँग्रेसभित्र असन्तुष्टि बढिरहेको बेला स्वयम गुरुङले भने यसलाई सामान्यीकरण गर्ने प्रयास गरेका छन् । उनले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै स्थानीयलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन् । पार्टी पदाधिकारी बैठकमै उपस्थित भएर आफूले स्थानीयलाई उम्मेदवार बनाउन आग्रह गरेको भन्दै सौहार्दपूर्ण वाताबरण बनाउने प्रयास गरेका छन् ।

Advertisement

Advertisement

Advertisement