चक्रवतीका विद्यार्थीहरु सरकारसँग न्याय माग्दै माइतीघर मण्डलामा (फोटो फिचर)

Advertisement

काठमाडौं । चक्रवर्ती हबी नर्सिङ कलेजबाट ठगिएका ३० विद्यार्थीहरु न्याय माग्दै माइतीघरमा नाराबाजी गरेका छन् । महिनौंदेखि विभिन्न निकायमा धाए पनि आफ्नो माग सुनुवाई नभएको भन्दै उनीहरुले माइतीघर मण्डलामा एक घन्टा नाराबाजी गरेका हुन् ।

विद्यार्थीहरूले संविधान प्रदत्त पढ्न पाउने हकबाट आफूहरू बञ्चित भएको बताउँदै त्यसको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरे । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन खारेज भएको कलेजले आफूलाई झुक्याएर भर्ना गरेको भन्दै कलेजलाई क्षतिपूर्तिसहित कारबाहीको माग गरेका छन्।

कलेजले आफूमाथि गरेको ठगीका विषयमा सीटीईभीटी र शिक्षा मन्त्रालय समक्ष अवगत गराउँदा पनि कारबाही नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलनमा सहभागी कमला थापाले भनिन्, ‘अदालतको अन्तरिम आदेश देखाएर कलेजले हामी ठग्यो। सम्बन्धित निकायलाई यसबारे थाहा छ तर कुनै कारबाही भएको छैन ।’

कलेजले पिसिएल नर्सिङ पढाउने भन्दै तीन लाख ११ हजार रुपियाँका दरले असुलेको छ । ४० प्रतिशत रकम सुरुमा बुझाउनुपर्ने भए पनि कलेजले ६० प्रतिशत मागेको थियो । सीटीईभीटीमा रजिष्ट्रेसन भइरहेको बताउँदै आस्वस्त पारेपछि विद्यार्थीहरु भर्ना भएका थिए ।

तर, पहिलो वर्ष परीक्षाको अघिल्लो दिन कलेजमा पुग्दा आफ्नो प्रवेश पत्र नपाएपछि विद्यार्थीलाई ठगिएको महसुस भएको थियो। आन्दोलनमा सहभागी विद्यार्थी प्रेमिका शाहीले भनिन्, ‘गत साउनमा नर्सिङ पहिलो वर्षको परीक्षा भयो । हामी परीक्षाका लागि तयार भएर बस्यौं । तर, कलेजले सिटिइभिटीमा हाम्रो दर्ता नै गरेको रहेनछ।’

परीक्षा दिन नपाएपछि न्याय माग्दै विभिन्न निकाय धाइरहेका विद्यार्थीहरुले कलेजले गरेको गल्तीको सजाय आफूलाई नगर्न शिक्षा मन्त्रालय र सिटिइभिटीको ध्यानाकर्षण गराएका छन्।

अनुष्का चौलागाइँ भन्छिन्, ‘कलेजले गल्ती गरेको छ। त्यसलाई कारबाही होस् तर कसैको ठगीका शिकार भएका हाम्रो पढ्न पाउने अधिकार नखोसियोस्।’ सीटीईभीटीले दुई वर्षअघि २०७४ साल असोजमा कलेजको सम्बन्धन खारेज गरेको हो। पटक–पटक आफ्नो नीतिनिर्देशन विपरीतका गतिविधि गरेको, विद्यार्थी भर्ना समेत जारी राखेको गरेको, मापदण्ड पूरा नगरेको भन्दै सिटिइभिटीबाट सो कलेजको सम्बन्धन खारेज गरेको थियो।

सिटिइभिटीले आफ्नै अस्पताल नभएको र सरकारी अस्पतालसँग सम्झौता गरेको नक्कली कागज देखाएर कलेजले विद्यार्र्थी भर्ना गरेको आरोपमा सम्बन्धन खारेज गरिएको हो।

Advertisement

Advertisement

Advertisement