'हेलिकप्टर म्यान' योगराजको हलचलपूर्ण 'हेली' यात्रा

Advertisement

काठमाडौं । सन् १९९९ सेप्टेम्बर १२ तारिखका दिन कस्मिक एयरबाट जागिर सुरु गरेका योगराज कँडेल शर्मा यतिबेला आफ्नै हेलिकप्टर कम्पनी चलाईरहेका छन् । गुल्मीमा जन्मिएर काठमाडौंमा संघर्ष आरम्भ गरेका उनी स्थाीप्त व्यवस्थापक एवं हेलिकप्टर व्यवसायी हुन् ।

हेलिकप्टर व्यवसायमा कँडेलको संलग्नता र लगावलाई नजिकबाट हेर्ने हो भने उनलाई ‘हेलिकप्टर म्यान’ भन्न सकिन्छ । यद्यपी उनी आफैं भने हेलिकप्टर उडाउने पाइलट होइनन् । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्न भ्याएका उनले यसबीचमा चार वटा हेलिकप्टर कम्पनीको नेतृत्व गरिसकेका छन् । कस्मिकमा १० महिना काम गरेपछि कँडेल पढ्न अमेरिका गए । अमेरिकाको फेडेरल एभियसन एडमिनिस्ट्रेशनबाट ग्राजुयट भए, एभियसन लाइसेन्समा ।

त्यसपछि नेपाल फर्किएका उनी स्पेस एयरमा जोडिन पुगे । स्पेश एयरमा दुई वर्षजति काम गरेपछि उनी क्याप्टेन रामेश्वर थापासँग नजिकिन पुगे । थापासँग मिलेर कँडेलले स्थापित गरे सिम्रिक एयर । सिम्रिकमा केही लगानीसहित उनले व्यवस्थापनको नेतृत्व लिए । ११ वर्ष सिम्रिक एयरमा बसेका कँडेलले ५ वटा हेलिकप्टर भित्र्याउन महत्वपूर्ण योगदान गरे ।

‘सिम्रिकमा मेरो पनि केही लगानी थियो, ११ वर्षसम्म त्यहाँ रहँदा आफ्नै अगुवाईमा ५ वटा हेलिकप्टरको संख्या पुर्याएँ, सिम्रिकले हाल प्राप्त गरेको उचाईमा मेरो ठूलो भूमिका छ’ शर्माले सुनाए ।

हाल हेलिकप्टर सोसाइटीको महासचिवसमेत रहेका कँडेलले आफ्नो लगानी र व्यवस्थापनमा हेली एभरेष्ट कम्पनी सञ्चालनमा छ । हेली एभरेष्टले व्यवसायीकरुपमा सफल पनि छ । यही बीचमा उनले रामेश्व थापाकै लगानीमा स्थापना भएको नामी कलेजको पनि नेतृत्व गरे ।

नामीलाई बजारमा ‘दामी’ कलेजका रुपमा स्थापित गराउन पनि कँडेलले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी भन्छन्, ‘नामी कलेज स्थापना र पहिलो चरणको व्यवस्थापनको जिम्मेवारी मैले लिएको थिएँ । त्यसलाई ‘सेटअप’ गराएपछि म पुनः आफ्नो पूरानो क्षेत्र अर्थात हेलिकप्टर व्यवसायमा फर्किएको हुँ ।’

हेली एभरेष्टको यात्रा
कँडेलको अगुवाईमा अन्य सात जनाले मिलेर २०१६ डिसेम्बरमा स्थापना नयाँ हेलिकप्टर कम्पनी स्थापना गरे, जसको नाम राखियो हेली एभरेष्ट । श्री एयरलाइन्सका दुई वटा पूराना हेलिकप्टर किनेर सन २०१७ बाटै उनीहरुले सेवा आरम्भ गरेका थिए । यी हेलिकप्टरहरुसँग छ जना यात्रु बोक्ने क्षमता थियो । तर, अहिले पाँच जना यात्रु र एक जना पाइलट मात्रै बोक्न पाउँछन् । यतिबेला तेस्रो हेलिकप्टरका रुपमा मेडेक भित्र्याउने तयारीमा कँडेल र उनको टिम जुटेको छ । ‘मेडेक हेलिकप्टर ल्याउनेबारे सोचिरहेका छौं, त्यसमा फिक्स इस्ट्रेचर हुन्छ’, उनी भन्छन्– ‘बिरामीका लागि उद्धारमैत्री हेलिकप्टर ल्याउनेबारे सोचेका हौं, अहिले सडक दुर्घटनाको उद्धारमा पनि हेलिकप्टर मगाउने क्रम बढिरहेको छ ।’ कँडेलको विचारमा हेलिकप्टर व्यवसाय एक्सपर्टहरुले चलाउने व्यवसाय हो । यसमा आउन सजिलो छैन् र बाहिर निस्कन पनि मुस्किल छ ।

के केमा उपयोग गर्ने ?
बिरामीको उद्धार गर्न र सिलिङ अपरेशन, समान बोक्न, स्काई ड्राइभिङ, कर्पोरेट क्लाइन्ट, हिमाल चढ्ने, ट्रेकिङ जाने लगायतका क्रममा घाइते भएकाहरुको उद्धारमा मुलतः हेलिकप्टर उपयोग हुने गरेको व्यवसायी कँडेल बताउँछन् । त्यसबाहेक माउन्टेन फ्लाइटमा पनि हेलिकप्टर व्यवसायको महत्वपूर्ण पक्ष रहेको उनको भनाई छ ।

छैनन् आफ्ना पाइलट
‘नेपालमा पाइलटहरुको संख्या निकै कम छ । उनी भन्छन्, ‘हामीले धेरै जसो विदेशी पाइलटबाट सेवा दिईरहनु परेको छ ।’ यद्यपी इञ्जिनियरहरु भने धेरै जसो नेपाली नै रहेको पनि कँडेलले बताए ।

कति उडाउन पाइन्छ ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले एफओआर (फ्लाइट अपरेशन रिक्वायरमेन्टस्) जारी गर्छ । त्यसमा लाइसेन्स पोलिसी पनि जोडिएको हुन्छ । हाल एउटा हेलिकप्टरले एक महिनामा एक सय घण्टा उडान भर्न पाउने व्यवस्था छ । त्यसले तीन महिनामा २९० घण्टा र एक वर्षमा एक हजार घण्टा उडान भर्न पाउँछ । त्यसबाहेक दैनिक यति घण्टा उडान र यतिवटा ल्याण्डिङ गर्न पाइन्छ भन्ने व्यवस्था पनि छ ।

कति उडाइन्छ र कस्तो छ बजार ?
‘हामीले वर्षमा कति उडान भर्ने भनेर ‘टार्गेट सेट’ गरेका हुन्छौं, त्योभन्दा बढी उडाउन सकियो भने नाफा हुन्छ, कम उडान भरियो भने नोक्सानी हुन्छ’, उनले जानकारी दिए । कँडेलका अनुसार वार्षिक छ सय घण्टाभन्दा बढी उडाउन सकियो भने हेलिकप्टरमा नाफा हुन्छ । हेली एभरेष्टले गत वर्ष दुई वटा जहाजलाई १४ सय घण्टा उडाएको थियो । त्यो भनेको दुई सय घण्टा उडान वापतको आम्दानी नाफामा पुँजीकृत हुनु हो ।

भ्रमण वर्षप्रति आशा
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हालसम्म ६२ वटा हिमाल आरोही टिमले बुकिङ गरिसकेको छ । जोखिमपूर्ण मानिएका आमादब्लम हिमाल र मनास्लुमा धेरै बुक भएको छ । कँडेल भन्छन्, ‘अब उद्धारका लागि ठूलो अवसर आउँछ, दुई हजार घण्टा घडाउने योजना छ । त्यति भएन भने पनि १८ सय त पक्कै पुर्याउँछौं, भ्रमण वर्षले नोक्सानीमा रहेका कम्पनीलाई पनि उकास्ने अनुमान छ ।’

यसबर्ष सिजनमा पर्यटक घटे । पूर्वउपप्रधानमन्त्री वामदेव गौतम र डा. सन्दुक रुइतलाई डेंगु भएको खबर संसारभर फैलिएपछि धेरै बुकिङ रद्द भए । तर अब भने अवस्था राम्रो हुँदै गएको कँडेलको भनाई छ । उनी भन्छन्, ‘भैरहवा विमानस्थल तयार भएको छ, पोखरा विमानस्थल बन्दै गरेको सन्देश छ । इण्डियन स्पाइस जेट, जजिरा एयरले उडान भर्ने तयारी गरिरहेका छन्, नेपाल एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान बढाउँदैछ । यसअघि धरासायी हुने अवस्थामा पुगेका हेलिकप्टर कम्पनीहरुले पनि भ्रमण वर्षबाट आफूलाई उकास्ने अपेक्षा गरेका छौं ।’

भ्रमण वर्षमा हेलिकप्टरमा अफर
हेलिकप्टर व्यवसायीले भ्रमण वर्षका लागि न्यून आय भएका व्यक्तिहरुका लागि पनि हेलिकप्टरमा घुम्न सकिने व्यवस्था मिलाउने तयारी गरेका छन् । नजिकका डाँडाहरुमा ब्रेक फास्टको अफर दिने तयारी गरिएको व्यवसायी कँडेलको भनाई छ । एउटै टिमले हेलिकप्टर बुक गर्नुपर्छ भन्ने अवस्थाको अन्त्य हुने पनि उनले बताए । फरक फरक १० जना यात्रु आउँदा दुई वटा हेलिकप्टरमा राखेर उडाउने योजना बनेको कँडेल सुनाउँछन् ।

शुल्क कति ?
हेलिकप्टर सञ्चालकहरुले नेपालीलाई हेलिकप्टर उडानमा केही सहुलियत दिइरहेका छन् । विदेशीका हकमा भने स्ट्याण्र्डर्ड रेट नै निर्धारण गरिएको छ । त्यसबाहेक उडानको प्रकृतिअनुसार शुल्क निर्धारण हुन्छ । हिमाल हेर्न माउन्टेन फ्लाइट र उद्दारका फरक फरक दर हुन्छन् । माउन्टेन फ्लाइटमा ३४ सयदेखि ४२ सय डलरसम्मको प्याकेज छ । कुन रोजेर जाने हो ? त्यो सेवाग्राहीमा भर पर्छ । सेवाग्राहीले हेलिकप्टरको प्रयोग कसरी गर्ने ? भन्ने कुरामा शुल्क निर्भर रहन्छ । यद्यपी त्यसमा केही आधार भने सरकारले नै तय गरिदिएको हुन्छ ।

‘फेक रेस्क्यू’ प्रकरण
व्यवसायी कँडेल ‘फेक रेस्क्यू’ प्रकरणमा हेलिकप्टर कम्पनीलाई मुछ्नु दुर्भाग्य भएको तर्क गर्छन् । उनी भन्छन्, ‘हामी आफैले सेवाग्राहीसँग सम्पर्क गर्दैनौं, एजेन्टमार्फत डिल हुने हो, एजेण्टले हामीलाई भुक्तानी दिन्छन्, त्यसकारण हामीलाई ‘फेक रेस्क्यू’मा जोड्नु गलत हो ।’
पर्यटक बसेको होटलको वेटरले नै ‘पर्यटक बिरामी भयो’ भनेर एजेन्ट बनिदिन्छन् । उसले पर्यटकलाई के खुवाउँछ ? पर्यटकसँग कति पैसा लिन्छ ? भन्ने कुरा आफूहरुका लागि सरोकारको विषय नहुने उनी बताउँछन्। ‘हामीले त ‘हेलिकप्टर चाहियो’ भनेर भन्नेसँग शुल्क लिने हो, त्यो पैसा हामी बिलसहित लिन्छौं, एउटा पर्यटक बाटोमा बिरामी भएर जीवन मरणको दोसाँध हुन्छ, उसलाई उद्दार गरेर ल्याउने काम हाम्रो हो, बीमा हुन्छ, पैसा उठिहाल्छ भन्ने आशामा हामी उद्धार गरेर ल्याउँछौं, यहाँ ल्याईसकेपछि पैसा तिर्नुपर्दा ‘फेक रेस्क्यू’ भनेर गाली गरिन्छ’, कँडेलले दुखेसो पोखे ।

गत वर्ष रसियन नागरिक उद्दार प्रकरणबारे पनि उनले असन्तुष्टि पोखे । कँडेल भन्छन् ‘अन्नपूर्ण क्षेत्रमा बिरामी फेला पर्यो, फिस्टेलले उठाएर ल्यायो, नर्भिकले उपचार गर्यो, उपचार गरिसकेपछि पैसा माग्दा पाइएन्, आखिर त्यो रसियन त भारत आएर झापा हुँदै भिसा बिनै नेपाल आएको रहेछ, पैसा नपाएपछि पासपोर्ट लिइदियो भने नर्भिकलाई कारवाही गर्ने भनियो, फिस्टेलले पनि पैसा पाएन्, दूतावासले दबाव दिएर आफ्नो नागरिक लग्यो, अनि उल्टै गाली हेलिकप्टर कम्पनीले खाए ।’

१० वटा कम्पनी, अरु थपिँदै
नेपालमा हाल १० वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् । मुस्ताङ कम्पनी चाँडै सेवा आरम्भ गर्दैछ । अरु दुई वटा पनि पाइपलाइनमा छन् । एयर डानास्टी, अल्टिच्युड, मनाङ, हेली एभरेष्ट, श्री एअर, कैलाश, समिट, सिम्रिक, प्रभु र ११ औं कम्पनीका रुपमा मुस्ताङ आईरहेको छ । यी कम्पनीहरुसँग ३३ वटा हेलिकप्टर छन् । तीमध्ये पनि आजका दिनमा २८ वटा हेलिकप्टर अपरेशनमा छन् ।

हेलिकप्टर दुर्घटना र हाम्रो आकाश
संसारभरकै हेलिकप्टर दुर्घटनाको अनुपात हेर्दा नेपालमा धेरै भएको जस्तो देखिन्छ । तर हाम्रो जस्तो भौगोलिक बनोट भएको देशमा हेलिकप्टर दुर्घटना कम कम नै रहेको कँडेलको भनाई छ । यद्यपी हेलिकप्टर दुर्घटनामा नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक कम्पनी दुबै केही न केही दोषी रहेको उनी स्वीकार गर्छन् । हेलिकप्टर कम्पनीको संख्या थपिँदै जाँदा गुणस्तरमा त्यति नै समस्या आउनेतर्फ पनि कँडेलले सचेत गराए ।

हेलिकप्टर कम्पनी कति आवश्यक छ भन्ने कुरा महत्वपूर्ण नभई कति वटा हेलिकप्टर आवश्यक छ ? भन्ने कुरा प्रधान भएको कँडेलको तर्क छ । आजका दिनमा नेपालको बजारलाई हेर्दा ३० वटा हेलिकप्टरलाई धान्न सक्ने उनको ठम्याई छ । नेपाल भ्रमण वर्षले राम्रो अवस्था ल्यायो भने बजार बढ्ने र त्यतिबेला हेलिकप्टरको संख्या पनि बढाउनुपर्ने कँडेलको विश्लेषण छ । तर आजका दिनमा भने ३० वटा हेलिकप्टरका लागि मात्रै बजार पर्याप्त छ ।

उनी भन्ँछन्, ‘अहिले सरकारले एउटा कम्पनीसँग न्यूनतम् पनि तीन वटा हेलिकप्टर हुनुपर्ने व्यवस्था गर्न लागेको छ । त्यसो गरियो भने ४० वटा हेलिकप्टर पुग्नेछ । केही कम्पनीहरुसँग अहिले नै पनि ३ वटा भन्दा धेरै हेलिकप्टर छन् । सबै कम्पनीहरुले कम्तिमा ३ वटा पुर्याउँदा ४० वटा संख्या हुन्छ । त्यस्तो अवस्थामा बजारलाई स्थानीयस्तरमा विस्तार गर्नुपर्ने हुन्छ । वर्षेनी २० लाख पर्यटक आउने वातावरण सुनिश्चित गर्नुपर्छ ।’

कति लाग्छ लगानी ?
दुई वटा हेलिकप्टरसहितको कम्पनी चलाउन सुरुमै ५० करोड लगानी आवश्यक पर्ने कँडेलले सुनाए । कार्यालय व्यवस्थापन गरेर सेवा आरम्भ गर्दा त्यो आँकडा ७५ करोड खर्च पुग्ने उनको भनाई छ । हेली एभरेष्टले ६० करोड लगानीबाट आरम्भ गरेको थियो । ‘अहिलेसम्म हामीले एक अर्ब लगानी गरिसकेका छौं । त्यसमा ४० प्रतिशत ऋण बैंकहरुबाट लिएका छौं’, उनले सुनाए । कम्पनीमा ५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये छ जना पाइलट छन् ।

Advertisement

Advertisement

Advertisement