श्रमदानमा खानेपानी आयोजना बनेपछि स्थानीय खुशी

Advertisement

रामपुर । रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ ।

एक गाग्री पानी लिनका लागि २ देखि ३ घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य स्थानीयले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् ।

खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी १९ हजार २०० रुपियाँका दरले ३ लाख ६४ हजार ८०० रकम रकम संकलन गरिएको थियो । यस आयोजना निर्माणमा रामपुर नगरपालिकाले १३ लाख रुपियाँ सहयोग गरेको छ ।

कुल १६ लाख ६४ हजार ८०० रुपियाँको लागतमा गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानीको सुविधा पुर्‍याइएको मनभागा लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष भीमबहादुर सिङ्जालीले बताए । खानेपानी आयोजना सम्पन्न गर्न १९ घरपरिवारका स्थानीय उपभोक्ताबाट १ सय जनाको जनश्रमदान परेको छ ।

‘वर्षौंदेखिको खानेपानी समस्या समाधानमा आएको छ, पानीको सुविधा पुगेपछि तरकारी, फलफूल खेती गरेर आयस्रोत बढाउनेतर्फ स्थानीयवासी लागेका छन्,’ उनले भने । खानेपानी आयोजनाबाट १९ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । थप ६ घरपरिवारलाई खानेपानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिङ्जाली बताउँछन् ।

बस्तीदेखि करीब ५६० मिटर तल रहेको किर्लोखोला र ढुसिनी गैराको पानीलाई लिफ्टिङ गरेर माथि गाउँमा लगिएको हो । पिउनेपानी, गाईभैंसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाउँमा पानीको कुनै पनि स्रोत नहुँदा स्थानीयले निकै समस्या भोग्दै आइरहेका थिए । पानी बोक्दैमा बिहान बित्ने गरेको स्थानीय बिनिता ठाडाको भनाइ छ ।

‘बिहान साढे २ बजेपछि उठेर गाग्री बोकेर पानी लिन जाने हो, अबेर गइयो भने पानी भर्ने पालो पाइँदैनथ्यो, पानी बोक्दैमा बिहान बित्थ्यो,’ उनले भनिन् ।

श्रीमान् विदेश, बच्चाबच्चीको हेरचाह, गाई–भैँसीलाई घाँसपात, मेलापात, २/३ घण्टा लगाएर एक्लै पानी बोक्नुपर्ने समस्या झेलेकी ठाडा अहिले भने गाउँमै पानी पाएपछि दंग छिन् । गाउँमा खानेपानीको सुविधा पुगेपछि मेलापात, घरायसी धन्दा, गाईभैंसीको हेरचाह गर्न सजिलो भएको उनले बताइन् ।

रम्भा गाउँपालिकाको वीरकोट मोचाबारीमा रहेको धरमपानीको मुहानबाट विक्रम संवत् २०३९/४० देखि नै पाइपबाट ल्याइएको पानी स्थानीयले उपभोग गर्दै आएका थिए । बिस्तारै पानी सुक्दै जाँदा विक्रम संवत् २०५७/५८ देखि गाउँमा खानेपानीको अभाव सिर्जना हुन थालेको हो । पानीको समस्याले कुनै पनि पेशा–व्यावसाय गर्न नपाइएको उपभोक्ता तुला सारुले बताए ।

‘प्रशस्त जग्गा भएपनि पानी नभएपछि राम्रो उत्पादन हुने जग्गा बाँझिन पुगे, अब पानी आएपछि पुनः बाँझिएका जग्गा प्रयोगमा आउन थालेको छ,’ सारुले भने । पानीको सुविधा पुगेपछि अहिले गाउँमा कृषि तथा पशुपालन व्यावसायमा चहलपहल बढ्न थालेको छ । पहिला माथिल्लो मनभागा र छापगाउँमा गरी करीब ५० घरपरिवारको बसोबास थियो ।

खानेपानीकै समस्याका कारण कोहीले बस्ती नै छाडेर अन्यत्र बसाइँसराइ गरेका थिए । अहिले २ गाउँमा करीब २६ घरपरिवारको बसोबास छ । यो क्षेत्र रामपुर नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा र विकट क्षेत्रमा पर्छ । यहाँ वर्षौँदेखि खानेपानीको अभाव हुँदा पनि समस्या समाधानमा कसैको ध्यान नजाँदा स्थानीयवासीले एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टाको समय खर्चनुपथ्र्यो ।

पानी बोक्दैमा दिन बिताउन बाध्य स्थानीय गाउँमै पानी उपभोग गर्न पाउँदा खुशी भएका छन् ।

Advertisement

Advertisement

Advertisement