भक्तपुर क्षेत्र नं १ बाट स्वतन्त्रसहित २१ जनाले गराए उम्मेदवारी दर्ता

Advertisement

भक्तपुर । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभासद्त्रय रामेश्वर फुयाँल, शशीजंग थापा र डा राजेन्द्रमान श्रेष्ठ, नेत्री सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष वचन देउजालगायतको नेतृत्वमा कमलविनायकबाट निस्किएको बाजागाजासहितको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको थियो ।

त्यसैगरी नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह कमल विनायकबाट बाजागाजासहित कार्यालय आइपुगेको थियो । सो दलका तर्फबाट पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँलगायतको टोली कमलविनायकबाट बाजागाजासहित उक्त कार्यालयमा आएको थियो। सो दलका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुर्दशनकुमार मुनंकर्मी, नेकपा मालेबाट सुर्दशन लामिछाने, नेपाली काँग्रेस (बि.पी) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरी स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजू, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराए । विसं २०७४ मा भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्काघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुने भएको हो ।

Advertisement

Advertisement

Advertisement