राजीनामा दिन निर्देशन दिँदादिँदै अटेर गरेर पत्रकार सम्मेलन गरेको भन्दै योगेश खरेलसँग रुष्ट

Advertisement

काठमाडौं । राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिँदादिँदै अटेर गरेर पत्रकार सम्मेलन गरेपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलसँग थप रुष्ट भएका छन् । खरेलले बुधबार पत्रकार सम्मेलन गरेका थिए ।

राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने निगमलाई सुधार गर्नुको सट्टा झन धरासायी बनाएको भन्दै मन्त्री भट्टराईले खरेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । तर प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा घर भएका र ओलीसँग पारिवारिक सम्वन्धसमेत रहेकाले खरेलले भट्टराईको कुरा अटेर गर्दै आएका थिए ।

निगम सुधार गर्न असफल हुँदाहुँदै पनि प्रधानमन्त्रीको निर्देशनमा नियुक्त भएकाले भट्टराईले खरेललाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लान सकेका छैनन् । तर, खरेल जति समय निगममा बस्छन्, निगम थप धरासायी हुने देखेपछि उनले खरेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न मन्त्रालयमै बोलाएर सल्लाह दिएको मन्त्रीका एक सहयोगीले जानकारी दिए । तर, खरेलले विभागीय मन्त्रीलाई अटेर गर्दै कहिले विदामा बस्ने, कहिले बैठक राख्ने काम गरेको र बुधबार निगम सुधार्ने बहानामा पत्रकारहरुलाई बोलाएर गलत प्रचार गरेकोले मन्त्री भट्टराई उनीप्रति थप आक्रोसित र सशंकित भएका हुन् ।

निगम सुधारको आफ्नो योजना सफल बनाउन खरेलबाट संभव नरहेको देखेर नै उनीलाई मार्ग प्रशस्त गर्न मन्त्री भट्टराईबाट सुझाव दिइएको उनका सहयोगीले बताए । खरेलप्रति स्वयम निगमकै कर्मचारी संगठनहरुदेखि कर्मचारीहरुसमेत सन्तुष्ट छैनन् । उनले हवाई माफियाहरुको इशारामा खरेलले काम गर्ने गरेकोले मन्त्रीले खरेल उपयुक्त पात्र नभएको निष्कर्षमा पुगेको बताए ।

पछिल्लो समयमा मन्त्री भट्टराई र खरेलबीच बोलचालसमेत बन्द भएको छ । निगमले खरिद गरेको वाइडबडी जहाज लामो समयसम्म नयाँ गन्तव्यमा उडाउन नसकेको, व्यापारिक हिसावले राम्रो गन्तव्यमा उडाउन अघि बढेको प्रक्रियालाई रोकेर आर्थिक प्रलोभनमा परी घाटा लाग्ने गन्तव्यमा जहाज उडाएको, चिनियाँ जहाजहरु महिनौसम्म सञ्चालन नगरेर थन्क्याएर राखेको, निगमको पूरानो बोइङ बिक्री गर्न कमिशनको खेलमा लागेको, निगमभित्र कर्मचारीहरुमा गुटबन्दी सिर्जना गरेको जस्ता आरोप खरेलमाथि लाग्दै आएको छ ।

आफूलाई प्रधानमन्त्री निकटको दावी गर्दै आएका खरेलप्रति स्वयम ओली पनि सन्तुष्ट नरहेको निगमको बार्षिकोत्सवमा ओलीको अभिव्यक्तिबाट देखिन्थ्यो । यद्यपि नातासम्वन्धका कारण ओलीले उनलाई हटाईहाल्ने निर्णय पनि गर्न सकेका छैनन् । यता निगमको आधिकारिक युनियनले पनि खरेलले निगमलाई धरासायी बनाएको भन्दै पटक पटक मन्त्री भट्टराईको ध्यानाकर्षण गराइसकेको छ । सत्तारुढ दल नेकपानिकट कर्मचारी संघ आधिकारिक रहेको युनियनका संयोजक सुवाश डाँगीले सरकारमा आफ्नै पार्टी रहेको र सोही पार्टीले नियुक्त गरेको मान्छेविरुद्ध आफूहरुलाई आन्दोलन गर्न अप्ठ्यारो भएको गुनासो गर्दै तर खरेललले गर्दा निगम र कर्मचारीको भविश्य नै अन्योलमा परेको बताउँदै आएका छन् ।

डाँगीले हवाई माफियाहरुको स्वार्थअनुसार खरेललाई निगममा ल्याइएको र उनले हरेक निर्णय लिँदा आफ्नो लाभ–हानी हेर्ने बताउँदै निगम सुधार गर्न आँट भएको इमान्दार व्यक्तिको जरुरी रहेको बताएका थिए । निगमको वाईडबडीले काठमाडौं–ओशाका सिधा उडान भरेको दूई महिनाभन्दा बढि भएको छ । यो अवधिमा निगमले झण्डै १५ करोड हाराहारीमा घाटा व्यहोरेको छ ।

जबकी खरेलले नेपालीहरुको धेरै बसोबास रहेको टोकियोको नायोगा उडानको प्रक्रिया रद्द गरेर ओशाका उडाउने प्रक्रिया सुरु गरेका थिए । यता मन्त्री भट्टराईले खरेलसँग रणनीतिक साझेदार भित्राउने विषयमा कुनै स्पष्ट योजना नरहेको, ओसाका फ्लाइटमा यात्रु संख्या सन्तोषजनक नहुँदा पनि जीएसए नियुक्त नगरेको, कोरिया र सउदी अरबियामा वाइडबडी जहाज सञ्चालन गर्न १४ महिनासम्म ध्यान नदिएको जस्ता गुनासो गर्दै खरेलको अदुरदर्शी र अपरिपक्व निर्णयका कारण निगम टाट पल्टिने र आफू बदनाम हुने स्थिति आएको गुनासो गर्दै आएका छन् ।

त्यति मात्रै नभएर विभागीय मन्त्रीलाई जानकारी नै नदिई खरेल स्वास्थ्योपचारको नाममा भारतमा बसेको, भारतमा रहेका निगमका कर्मचारीसँग व्यक्तिगत प्रयोजनको लागि भन्दै लाख रुपियाँ लिएको खबरपछि भट्टराई उनीप्रति थप सशंकित भएका हुन् ।

Advertisement

Advertisement

Advertisement