नेपाली सेनाले जाजरकोट-डोल्पा सडक विभागलाई हस्तान्तरण

Advertisement

डोल्पा । ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा-सडक सडक विभागलाई हस्तान्तरण गरेको हो ।

जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि बिहीबार हस्तान्तरण भएको छ । नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन् ।

कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पुयाउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख पहाडीले जानकारी दिए । कार्यदल प्रमुख पहाडीले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरेका छन् ।

त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक वर्षभित्र जाजरकोट डोल्पा सडकखण्डमा पर्ने खदाङस्थित भेरी नदीमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदी गरी दुई वटा बेलिब्रिज निर्माण गरिने बताए ।

देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पुर्‍याउने सरकारको लक्ष्य रहेकाले अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम शुरु गरिनेसमेत सचिव कार्कीले बताए । रक्षा मन्त्रालयका सहसचिव शन्तबहादुर सुनारले अटुट हिक्कम र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्य पनि सम्पन्न गर्न सकिने उदाहारण नेपाली सेनाले दिएको बताए ।

सडक हस्तान्तरण कार्यक्रममा सिङ्गो डोल्पालीको तर्फबाट जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सिधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै स्तरोन्नति गरिनुपर्ने बताए ।

त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत नामकरण गरिएको जाजरकोट डोल्पा सडकको रणनीतिक महत्व झल्काउन दुनैदेखि धोहुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने उनले बताए ।

एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकप्टरबाट अनुगमन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement