उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा स्थगित, शेखर गोल्छालाई ढुक्क

Advertisement

काठमाडौँ । विधान संशोधनका लागि आगामी कात्तिक २९ गते बोलाइएको उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने भएको छ ।

शुक्रबार साँझ बसेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगीत गर्ने, अध्यक्ष संम्बन्धी विधानको हालको व्यवस्था संशोधन नगर्ने र संशोधन गर्नुपर्ने अन्य विषय नियमित साधारणसभाबाट गर्ने निर्णय गरेको हो। ‘यो निर्णय महासंघको कार्य समितिलाई समितिमा सिफारिस गर्ने छौ,’ कार्यदलका संयोजक तथा महासंघका विशेष सदस्य चण्डीराज ढकालले भने, ‘उसले हाम्रो निर्णय अनुसार विशेष सधारणसभा बोलाउने विषयलाई स्थगित गर्ने छ।’

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। योसहित विधानका विभिन्न विषयमा संशोधन गर्न कात्तिक २९ गते विशेष साधारणसभा बोलाइएको थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने हालको व्यवस्था संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चुन्ने व्यवस्था ल्याउने तयारी थियो। विधान संशोधन कार्यदलले यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेपछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने बाटो खुला भएको छ।

‘यस पटक मात्रै हैन, आउँदो नियमित साधारणसभामा पनि अध्यक्ष सम्बन्धी हालको व्यवस्था परिवर्तन गर्ने सिफारिस गरेका छौँ,’ ढकालले भने, ‘विधानका अन्य विषयको संशोधन गर्नुपरे नियमित साधारणसभामा प्रस्तुत हुने र त्यहि निर्णय हुने छ।’

गत साउन ३१ गते विशेष सधारणसभा बोलाउने र अध्यक्ष सम्बन्धी व्यवस्था परिवर्तनको गृहकार्य सुरु भएलगत्तै महासंघका धुव्रिकरण भएको थियो। प्रत्यक्ष निर्वाचन प्रणाली वा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने भन्ने विषयमा निजी क्षेत्रका अधिकारीहरु विभाजित भएका थिए।

सात पूर्व अध्यक्षहरुले सामूहिक रुपमा विधान संशोधन कार्यदललाई सुझाव बुझाएका थिए। विधान संशोधन गर्न नहुने, गरेपनि यसै कार्यकालबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष सम्बन्धी प्रणाली लागू गर्न नमिल्ने सुझाव पूर्व अध्यक्षहरुको थियो।

महासंघका पहिले प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणाली मै थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएको एक कार्यकाल भयो । यो व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष पदमा रहेकी भवानी राणा महासंघकी अध्यक्ष भएकी हुन् । उनको कार्यकाल आगामी चैतमा सकिदै छ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement