एक मधेसी नेता भन्छन्– हामीले हाम्रो एक इन्च जमिन पनि भारतलाई छोड्न हुन्न

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ । अहिले मुलुकमा बलियो सरका छ । सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ ।’

विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै यादवले अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने बताए । नेपालबाट विभिन्न समयमा भारत भ्रमण जाने काम भएको सुनाउँदै ती भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे ।

यादवले परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने बताए । उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।

यादवले भने, ‘नेपालको एक ईन्च पनि भूमि हामी छोड्दैनौं, देशको भूमि रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भीरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’ अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको उनले सुनाए । यादवले भने, ‘यो सरकारलाई अवसर र चूनौति दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदै पनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे । उनले भने, ‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन् । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ । यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’ नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने यादवको भनाई छ ।

Advertisement

Advertisement

Advertisement