चर्पी क्रान्ति भइसकेको छ, नेपालमा एकाध वर्ष पर्खनुपर्ला-उपाध्याय

Advertisement

काठमाडौं । यस्तो चर्पी कल्पना गर्नुभएको छ ? जहॉ दिसापिसाव सबै तुरून्तै केमिकल र फिजिकल रियाक्सन गरी सबै रिसाईकल हुने, पानी रिसाईकल भएर पुन प्रयोग गर्न मिल्ने , त्यसबाट उर्जा उत्पादन भएर चर्पी संचालन हुने र केही ठोस पदार्थ खरानीको रूपमा विस्तारै जम्मा भएर स्वतस् सबै क्रिया चर्पी भित्रै पूरा भएर ढल वा सेप्टिक ट्यांकमा नजाने ?

हो, यस्तो चर्पि बनिसकेको छ र त्यसको प्रदर्शनी गत वर्ष बेजिंगमा हेर्न पाईयो । अबको केही समय भित्रै प्रदूषणरहित, ढल प्रणालीबिहीन, पूर्ण जिरोवेस्ट हुने, पानी नचाहिने चर्पी नेपालमा पनि भित्रनै प्रचुर संभावना छ । यो चर्पी क्षेत्रमा आजसम्मको महानतम् क्रान्ति बन्दैछ । सफाई क्षेत्रमा अभूतपूर्व आविष्कार , ढलप्रणाली अनावश्यक चर्पीप्रणाली ।

हग्न पर्ने तर गुहु कहॉ जान्छ ? त्यो गुहुले के प्रतिकूल असर पार्छ ? त्यसको कसरी सुव्यवस्थापन गर्ने ? नजान्ने मानव समाज कहिले पनि सभ्य कहलिन्न । चर्पी घर बनाउन लाखौं लाखौं खर्च गर्ने तर गुहुलाई के गर्ने भन्नेमा आजसम्म मतलब नराख्नुको पछाडि बैज्ञानिक, ईन्जिनियर, उद्योगी, आविष्कारक, प्राज्ञ वर्गले यस क्षेत्रमा ऑखा चिम्लेरै हो रहेछ ।

बिल गेट्सले विगत ८ वर्षदेखि यही विषयमा घोत्लिएर आफ्नो कमाईलाई यसमा अनुसंधान गराउन विश्वभरिका सम्बन्धित संस्थाहरूलाई फेलोसीप र चन्दारलगानी दिएर प्राप्त नतिजाको गत वर्षको नोभेम्बर ६ देखि ८ सम्म विश्वभरिमा विकास गरिएका नविन अत्याधुनिक प्रविधियुक्त व्यावहारिक दिगो उपकरण र प्रविधिको बेइजिंगमा प्रदर्शनी आयोजना गरिएको थियो। आश्चर्यजनक उपलव्धीको दिन आरम्भ हुन थालेको संकेत दिएको छ जसमा प्रचूर काम, कमाई , सफाई, सस्तो र सभ्य मानव समाजको पुनरोत्थान निहीत हुदैछ ।

चर्पी व्यवस्थापनमा अत्याधुनिक प्रविधिक्रान्तिको सुरूवात हुने भएछ। बल्ल मानिसले दिसा व्यवस्थापन गर्नमा अत्यांधुनिक प्रविधिको प्रयोग गर्न थाल्ने युगारम्भ हुन थालेछ। खानपिउन वा अन्य कुरामा नयॉ नयॉ प्रविधिको बिकास गर्न खुबै जान्ने तर हग्न र गुहु व्यवस्थापन गर्न नजान्ने वा त्यसमा मतलब नराख्ने मानव समाजमा आजसम्म प्रविधिको छड्के नजर पनि परेको रहेनछ ।

चर्पी र चर्पीबाट निस्कने मलमूत्र व्यवस्थापनमा पनि अत्याधुनिक विज्ञान र प्रविधिको महत्वपूर्ण प्रवेश हुन थालेको ‘चर्पि क्रान्तिको सुरूवातको युग’ आरम्भ भएको गत वर्ष Reinvented Toilet International Expo Beijing मा देख्न बुझ्न जान्न पाईयो । मेनफ्रेम कम्प्युटरबाट पर्सनल विन्डोबेस्ड कम्प्युटरले ल्याएको क्रान्ति जस्तै घरघर र जनजनमा चर्पी प्रविधिले कब्जा जमाउन अब धेरै वर्ष कुर्न नपर्ने भएको बुझियो । तयार रहनुहोला, चर्पी जस्तो अपहेलित जिवनको दैनिक महत्वको संरचना व्यवस्थापनमा बल्ल बल्ल अत्याधुनिक प्रविधिको मोहनी लाग्दैछ ।

चीनले चर्पी सामग्री उत्पादन गर्ने बेंडा समातेको छ, बिल गेट्सले रिसर्च र ईनोभेशन गर्ने प्राविधिक र अनुदान सहयोग विश्वभरि दिदैछ। जब विश्वका सबैभन्दा शक्तिशाली ब्यक्तित्वहरू, बिल गेट्स् र सी जिनपिङ हातेमालो गर्छन्, शान्त प्रविधि क्रान्ति चुट्कीको खेल हुने नै भयो ।
साँस थामेर पर्खौ । एकाध वर्षमा नेपालमा पनि त्यस्ता सामाग्री सुपथमा उपलब्ध हुनेछ। यसले चर्पी प्रविधि र ब्यवस्थापन प्रणालीमा युगान्तकारी चमत्कार देखाउदै छ।-लेखक नेपाल सरकारका पूर्व सचिव हुन्

Advertisement

Advertisement

Advertisement