अतिरिक्त शुल्क फिर्ता गर्न शिक्षामन्त्रीको मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम

Advertisement

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुसँग लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पोखरेलले १५ दिनभित्र शुल्क फिर्ता नभए त्यस्ता कलेजहरुलाई कारवाही गर्ने बताए ।

आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गर्दै उनले चिकित्सा शिक्षा ऐन र मन्त्रिपरिषदका निर्णय कार्यान्वयन गर्न अन्तिम पटक आग्रह गरिएको बताए ।

पोखरेलले भने, ‘उनीहरु आफैले समस्या मिलाएनन् भने विद्यार्थी र अभिभावकका निवेदनहरु कार्यान्वयनको प्रक्रियामा जान्छ ।’ उनले १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई पत्र लेख्ने बताए ।

‘तालाचाबी बुझाइदिन्छौं’ भनेर धम्की दिएको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने पोखरेलको भनाई छ । उनले भने, ‘कानून सबैका लागि लागू हुन्छ ।’ पोखरेलले गुपचुप रुपमा कलेज सञ्चालकका शर्तहरु स्वीकार नगर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

मेडिकल कलेजहरुले विद्यार्थीहरुको माग सम्बोधन गर्दै तोकिएको शुल्क लिएर पठनपाठन सहज बनाए उनीहरुका शुल्क र संरचनाबारेका कुराहरु नयाँ ढंगले बहस गर्न सकिने पोखरेलले बताए ।

Advertisement

Advertisement

Advertisement