तराईको सिंचाईका लागि सिंचाईमन्त्रीले जापानसँग सहयोग मागे

Advertisement

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको उर्जा तथा सिंचाई मन्त्रालयले जनाएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटी सिचाई क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो ।

यस्तो सहयोग तराई मधेसमा सञ्चालन भएका सिंचाई आयोजनामा खर्च गरिने जनाइएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार मन्त्री पुनसँग सिंहदरबारस्थित उर्जामन्त्रालयमा भेटी उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा जापानी राजदूत मसामिची साईगो समेत सहभागी थिए । उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताए ।

उर्जामन्त्री पुनले जापान नेपालको पूरानो विकास साझेदार हो भन्दै सिंचाईतर्फ नेपाल सरकारले ठूला आयोजना अघि बढाइरहेको, तराई मधेसमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागी काम भइरहेको जानकारी दिए ।

पुनले जापान सरकारको सहयोगमा उर्जामन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागि २० करोड बजेट समेत बिनियोजन गरेको बताउँदै उक्त संस्थासँग सहकार्य गर्न पनि आग्रह गरे । सिंचाई क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै उनले त्यसमा सहकार्य गर्न सकिने बताए ।

मन्त्री पुनले सिक्टा सिंचाई परियोजनामा घुलनशील माटोको समस्या देखिएको भन्दै समाधानका लागी समेत आग्रह गरे । उनले जापानसँग समाधानको लागी कुनै उपाय भए सहयोग गर्न आग्रह गरेका थिए । भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको जनाइएको छ । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

Advertisement

Advertisement

Advertisement