गोविन्द केसीका माग यसअघि नै पूरा भइसकेः दुर्गा प्रसाईं, आफूमाथि अन्याय गरिएको गुनासो

Advertisement

काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनै पनि जायज नभएको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले यसअघि केसीले अघि सारेका सबै माग पूरा भइसकेको दाबी गरेका हुन् । उनले भने, ‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ? डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’

प्रसाईंले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने, ‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए ।

तर, आज ८ वर्ष बितिसक्दा पनि अनुमति नदिएको उनको गुनासो छ । प्रसाईंले भने, ‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’ उनले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर प्रसाईंले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए ।

उनले थपे, ‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईंहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

प्रसाईंले अनशनरत केसीका कुन माग राम्रा छन् ? भन्दै देखाउन चूनौति दिए । उनले भने, ‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न लगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदूर पूर्व जान भन्नुभयो, मैले बी एण्ड सी खोलें ।’

प्रसाईंले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

Advertisement

Advertisement

Advertisement