क्यान महासंघको अध्यक्षका लागि नवराज कुँवरद्धारा उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । सूचना प्रविधि व्यवसायी नवराज कुँवरले कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हाल क्यानको वरिष्ठ उपाध्यक्ष रहेका उनले संस्थाको २६वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी पेश गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचन हुँदैछ ।

कुँवर भन्छन्, “७७ ओटै जिल्लामा क्यान महासंघका शाखा पुर्याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचना प्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको हुँ ।”

सूचना प्रविधिसम्बन्धि सामान एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवाहरिक कर नीतिलाई सरकारसँग छलफल गरि समाधान गर्ने पहल गरिने पनि उनले बताए ।

आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताए । नेपालको सबैभन्दा ठूलो सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनको भनाई छ ।

त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचनाप्रविधि (आईटी) र पर्यटन प्रविधि (टीटी)लाई सम्बोधन गर्ने गरी पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, सूचनाप्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल गर्ने, सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पुर्याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउने जस्ता एजेण्डा कुँवरले अघि सारेका छन् ।

Advertisement

Advertisement

Advertisement