पोखरामा दोश्रो मेलम्चीः ३ अर्ब ९४ करोड खर्चेर दैनिक ४ करोड लिटर शुद्ध खानेपानी

Advertisement

काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।

नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको सहयोगमा उक्त आयोजनाको काम अघि बढाएको छ । आयोजनाको काम सुरु भएको पाँच महिना पुरा भएको छ ।

गत जेठ महिनामा खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास गरिन । मन्त्री मगरले पोखरामा बन्दै गरेको यस आयोजनालाई ढिलाई नगर्न निर्देशन दिइन । खानेपानी मन्त्रालयको मेलम्ची आयोजना पछिको यो दोस्रो ठूलो आयोजना हो । आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो ।

जापानले दिएको कुल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाज्मा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाज्मा कम्पनीसँग संस्थानले गत २४ फागुनमा सम्झौता गरेको थियो । हाज्मा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

संस्थानका अध्यक्ष जिउलाल चौधरीले खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको र यस आयोजनाबाट अधिकांश पोखरेलीबासीले प्रत्यक्ष लाभ पाउने बताए । यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ । यो पाँच महिनाको अवधिमा उल्लेख्य भौतिक प्रगति भएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले जानकारी दिए ।

जापानले दिएको अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, रिजर्भवायर ट्यांकी निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. प्रसादको भनाइ छ । दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने गरी ट्रिटमेन्ट प्लान्टको काम रफ्तारमा अघि बढेको महाप्रबन्धक प्रसादले बताए ।
त्यस्तै, खानेपानी भण्डारण गर्न २०–२० लाख लिटरको तीनवटा रिजर्भवायर पानी ट्यांकीको निर्माण कार्य पनि धमाधम भईरहेको छ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माणको काम भईरहेको संस्थानका पोखरा शाखा प्रमुख आशिष कार्कीले जानकारी दिए ।

शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ । पस्र्याङ, फूलबारी, कोलपाटनमा निर्माण भईरहेको ट्यांकी मार्फत पोखरामा पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन बिछ्याइने छ । सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो ।

Advertisement

Advertisement

Advertisement