यसकारण चाहिन्छ निजगढमा अन्तराष्ट्रिय विमानस्थल- योगेश भट्टराई

Advertisement

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले पिक आवरमा प्रति घण्टा २२।२३ सय जना यात्रुलाई सेवा दिईरहेको छ । सामान्यतयः प्रति घण्टा १२।१३ सय जना यात्रुलाई मात्रै सेवा दिन सक्ने क्षमता हो त्यसको । त्यसकारण पनि कर्मचारीहरुले कहिले काँही झर्कीफर्की गर्छन् । त्यसलाई मानवियतासँग जोडेर हेरिदिनुपर्छ । हामीले कर्मचारीहरुको मनोविज्ञानलाई सकारात्मक बनाउन र सेवा भाव अभिवद्धि गराउन १४ सय ६८ जनालाई उत्प्रेरणा(मोटिभेशन)को तालिम दिएका छौं ।

हामीले समान्यतयाः एक घण्टा भित्र लगेज क्लियर गर्ने योजना बनाएका छौं र सोही अनुसार काम पनि गरिरहेका छौं । अझै हामी ३० देखि ४५ मिनेट भित्रै लगेक क्लियर गर्न सकिन्छ की भनेर हेरिरहेका छौं । यात्रुहरुलाई लगेज ढिलो आएको जस्तो लाग्छ र हामीलाई गाली गरिरहेका हुन्छन् । त्यसको पनि कारण छ ।

प्लेनबाट उत्रिएको १० देखि १५ मिनेट अवधीमा यात्रुहरु लगेज लिने ठाउँमा आईसक्ने अवस्था छ । यस्तो चाँडो त धेरै विदेशका विमानस्थलमा पनि हुँदैन् । विदेशी विमानस्थलमा जहाजबाट उत्रिएको औषत एक घण्टा नभई लगेज कलेक्सन गर्ने ठाउँमा आउनै सम्भव हुन्न । विदेशी विमानस्थलमा जहाजबाट उत्रेर एक घण्टा लगाएर लगेज कलेक्सन गर्ने ठाउँमा आईपुग्दा चाँडै लगेज पाईएको जस्तो लागेको मात्रै हो । हामी यहाँ जहाजबाट उत्रिएर १५ मिनेटमा लगेज कलेक्सन गर्ने ठाउँमा पुग्छौं अनि त्यहाँ २० मिनेट कुर्नु पर्यो भने ढिला भयो भन्छौं ।

कति छन् विमानस्थल ?
अहिले नेपालमा निर्माण सम्पन्न भएका ५० वटा विमानस्थल छन् । २ वटा निर्माणका क्रममा छन् । ३४ वटा विमानस्थल सञ्चालनमा छन् । ३३ वटा विमानस्थल कालो पत्रे भएका छन् ।  हाम्रो देशको आकार र भूगोलका हिसाबले हेर्ने हो भने यी विमानस्थलहरुको संख्या अत्यधिक धेरै हो ।
यति धेरै विमानस्थल नेपाललाई नचाहिनुपर्ने हो । तर हाम्रो भौगोलिक बनोट कारण भने विमानस्थलहरु नै दुर्गम क्षेत्रका लागि भरपर्दाे यातायातको माध्यमका रुपमा स्थापित छन् । पानी जहाज तत्काललाई नभएको र सडक यातायात समेत सुुलभ र सहज नभएको अवस्थामा हवाई यातायात हाम्रा लागि उपयुक्त बन्न गएको हो । अहिले पनि माननीयहरुका तर्फबाट थप २५ वटा विमानस्थल बनाईदिनु पर्यो भन्ने माग आएका छन् ।

यसरी पुराना सबै विमानस्थल चलाउने अनि माग भए बमोजिम नयाँ पनि बनाउने हो भने हामीसँग ७५ वटा भन्दा बढी एयरपोर्ट पुग्नेछन् । एक जना भारतीय साथी आएका थिए, हामीसँग यति धेरै विमानस्थल छन भन्दा उनी छक्क परे ।

त्रिभुवन विमानस्थलबारे
त्रिभुवन विमानस्थलमा दैनिक ४ सय वटा उडान हुन्छन् । अन्तराष्ट्रिय उडानहरु औषतमा एक सय वटा हुने गरेका छन् । हेलिकप्टरहरुको उडान पनि औषतमा एक सय वटा नै हुने गरेको छ । यसरी हेर्दा त्रिभुवन विमानस्थलबाट दैनिक औषतमा ६ सय वटा उडान हुने गरेका छन् ।

अन्तराष्ट्रिय उडान तर्फ दैनिक ११ हजार यात्रुले सेवा लिएका छन् । आन्तरिक तर्फ ९ हजार यात्रुले उडान भरिरहेका छन् । औषतमा दैनिक २० हजार यात्रुले यो विमानस्थलबाट सेवा लिईरहेका छन् । यसलाई बार्षिक हिसाब गर्दा ७२ लाख हुन आउँछ । अर्थात त्रिभुवन विमानस्थलले बार्षिक ७२ लाख यात्रुहरुलाई सेवा दिईरहेको छ ।

हवाई यात्रुको बढ्दो चाप
विश्वमा हवाई सेवा प्रयोग गर्ने यात्रुहरुको वार्षिक वृद्धिदर ७ प्रतिशत छ । तर नेपालमा भने बार्षिक १३।१४ प्रतिशतका दरले हवाई सेवा लिने यात्रुहरुको संख्या वृद्धि भैरहेको छ ।

त्यसकारण निजगढ
हाम्रो हवाई यात्रालाई व्यवस्थित र सुरक्षित गर्नका लागि काठमाडौंसँग नजिकै जोडिएको क्षेत्रमा अर्काे अन्तराष्ट्रिय विमानस्थल बनाउनुको विकल्प छैन् । र त्यसका लागि उपयुक्त स्थान भनेको निजगढ विमानस्थल नै हो ।

कतिपय अवस्थामा निजगढ विमानस्थलका विरुद्ध वातावरणको सवाल उठाउने गरिएको छ । वातावरणवादीका आँखाले मात्रै हेर्दा त्यो पनि ठिकै होला । तर विकास गर्ने, नागरिकको जीवनस्तर उकास्ने र देश बनाउनुपर्ने जिम्मेवारी र आँखाबाट हेर्ने हो भने चाँही निजगढ विमानस्थल अपरिहार्य छ ।

अब निजगढको अर्काे विकल्पमा जान सकिँदैन् । निजगढलाई यहि मान्यताका साथ हामीले अघि बढाउन चाहेका छौं र त्यसमा राजनीतिक सहमति पनि जुटेको छ । कुनै पनि राजनीतिक दलले निजगढ विमानस्थलको बिरोध गरेका छैनन् । यो साहै्र राम्रो कुरा हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका आफ्नै सिमितता छन् । त्यहाँ एउटा मात्रै रन वे छ र अर्काे बनाउन सक्ने अवस्था पनि छैन् । अर्काे भनेको यहाँ भौगोलिक अवस्था र मौसमले पनि यसलाई अब थप विस्तार गर्न सक्ने अवस्था देखाउदैन् ।

हामी राजनीतिक मान्छेहरुले कतिपय अवस्थामा प्राबिधिक कुरा बुझ्दैनौं । एउटा रन वे त थपिदिँदा भैहाल्छ नी भन्ने पनि लाग्छ सक्छ । त्यसरीले रनवे थप्दा अन्तराष्ट्रिय मापदण्ड पुर्याउन पनि सक्ने अवस्था देखिन्न । हरेक दृष्टिकोणबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्काे रनवे बनाउन कुरा सम्भव छैन् । त्यसकारण अहिले भएकै सिंगल रनवेबाट काम चलाउनुपर्ने अवस्था छ ।

हामीसँग जहाज पार्किङका लागि ट्याक्सी वे पनि छैन् । त्यहि कारणले प्रत्येक जहाजले ३ देखि ५ मिनेट होल्ड हुनु परिरहेको छ । यसलाई हल गर्ने प्रयास भैरहेको छ तर सकिरहेका छैनौं ।
काठमाडौंको भुगोल, मौसम, विमानस्थलको सिमित क्षेत्र लगायतका कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल थप विस्तार हुन नसक्ने अवस्था प्रमाणित भैसकेको छ । एकाध घण्टाको सडक यात्रापछि संघीय राजधानी आउन सकिने ठाउँमा अन्तराष्ट्रिय विमानस्थल चाहिन्छ ।

फास्ट ट्रयाक बनेपछि निजगढ र काठमाडौंको दुरी एक घण्टामै छोटिन्छ । त्यसकारण पनि निजगढमै अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्छ । त्यहाँको मौसम र भौगोलिक अवस्थितिले पनि हामीलाई साथ दिएको छ । त्यसकारण निजगढ विमानस्थलको विकल्प खोजिनु हुन्न भन्ने हो ।

-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले संसदीय समितिमा राखेको मन्तव्य

Advertisement

Advertisement

Advertisement