विद्यार्थीले आफ्नै साथीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

Advertisement

वासिङ्टन । अमेरिकाको क्यालिफोर्नियास्थित एक हाइस्कुलका विद्यार्थीले कक्षा सञ्चालन हुँदै गर्दा आफ्नै साथीहरुमाथि गोली प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ ।

अरु केही घाइते छन् । विद्यार्थीले ‘सेमि अटोमेटिक’ बन्दुग झोलाबाट झिकेर अन्धाधुन्ध प्रहार गरेका हुन् । अधिकारीहरुका अनुसार ती विद्यार्थीले आफ्नो १६औं जन्मदिनकै अवसरमा यस्तो घटना गरेका हुन् ।

घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ। आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले जनाएको छ। साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए।

लस एन्जल्सका एक अधिकारीले गोली चलाउने नथानेल बेर्हो नामका विद्यार्थीको अवस्था पनि गम्भीर रहेको बताएका छन्। बिहान कक्षा सुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेको अधिकारीहरुले जनाएका छन्।

प्रहरीले घटनामा कुनै आतंकवादी संगठनको हात नरहेको अनुमान गरेका छन्। विद्यार्थीबीचको आपसी टसलका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

Advertisement

Advertisement

Advertisement