किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता

Advertisement

लमही । पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ । जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।

किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको किसान युवराज वलीले बताएका छन् । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने उनको भनाइ छ । कृषि उपकरणले गर्दा समयमै खेतीपाती ढल्याउन सहज भएको अर्का किसान मनसरी केसीले बताए ।

“पहिले–पहिले सात/आठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्यो तर आजभोलि दुई/तीन दिनमै खेती ढल्याउने भएको छ,” उनले भने । तुलसीपुर–१० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि यस वर्ष भने ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताए । गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव भएका समयमा कृषि उपकरण आएपछि धेरै सजिलो भएको उनको भनाइ छ ।

उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । “एक दिनको गोरु र मानिसले आठ सय देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ”, अर्का किसान निर्मल वलीले भने । थ्रेसर मेसिनले धान दाउँदा प्रतिघण्टा दुई हजार र जोत्दा प्रतिघण्टा रु ८०० लिने गरेका उनको भनाइ छ ।

कृषि प्राविधिक यमप्रसाद पाण्डेले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताए । “पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्”, उनले भने । जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन् । किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनसक्नु भएको थ्रेसर चालक विमल चौधरीले बताए ।

Advertisement

Advertisement

Advertisement