हट्ने चर्चाका मन्त्री भन्छन्- हल्ला हो, हटाउने भए ओलीले कार्यसम्पादन सम्झौता गर्नुन्थेन

Advertisement

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेको छैन् । प्रधानमन्त्री केपी ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन। नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरूले कार्य सम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अघि बढाउनु भए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् ।

यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपालसहितका नेतासँग पुनर्गठनलाई लिएर अनौपचारिक परामर्श गरिसकेका छन् । मन्त्री परिवर्तनको चर्चासँगै केही बहालवाला मन्त्रीहरू भने तनाबमा परेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हटाइने भनिएकामध्ये एक हुन् । तर, उनले मन्त्रीमण्डल पुनर्गठन हुने हल्ला मात्र भएको बताए । महासेठले भने– ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने सबै हल्ला हो, मैले हल्लाकै रूपमा मात्र बुझेको छु, अहिलेसम्म सरकारबाट बाहिरिनुपर्ने संकेत पाएको छैन ।’

सत्तारूढ दल नेकपाका शीर्ष नेताहरूले नै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा प्र्रधानमन्त्री ओली रहेको अभिव्यक्ति दिँदै आएका छन् । तर, स्वयं प्रधानमन्त्री ओलीले भने बहालवाला मन्त्रीहरूलाई मन्त्रिमण्डल पुनर्गठन हुने कुनै संकेत गरेका छैनन् ।

‘दुई वर्ष पुग्न अझै ६ महिना बाँकी छ, मन्त्रीबाट हट्ने प्रधानमन्त्रीबाट कुनै संकेत पाएको छैन’, मन्त्री महासेठले भने– ‘काम गर्न प्रधानमन्त्रीबाट सहयोग नै पाएको छु, यो हल्लाबाहेक केही पनि होइन् ।’

मन्त्रिमण्डल पुनर्गठन चर्चा शुरू भएसँगै मन्त्रालयमा कर्मचारीहरूले समेत मन्त्रीको काममा असहयोग गर्ने क्रम शुरू भएको छ । मन्त्री महासेठकै बोली अर्का ‘हट्ने भनिएका’ सामान्य प्रशासन मन्त्री लालबाबुको पनि छ।

‘मन्त्रिमण्डल पुनर्गठन मिडिया हल्लाबाहेक अरू केही पनि होइन’, उनले भने– ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको अधिकार प्रक्रिया र प्रणालीभित्रको विषय हो तर हल्लाकै भरमा मन्त्रीमण्डल पुनर्गठन हुँदैन।

’प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीहरूसँग एक वर्षे कार्य सम्पादन सम्झौतासमेत गरिसकेका छ्रनन् । कार्यसम्पादन सम्झौताअनुसार पनि तत्काल मन्त्रीबाट नहट्ने संकेतका रूपमा मन्त्रीहरूले लिँदै आएका छन्।

बारम्बार मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै नेकपाभित्र दुई दर्जनभन्दा बढी नेताहरू मन्त्री बन्नका लागि ‘लबिङ’मा छन् । मन्त्री पण्डितले मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चालाई ताप्केको बिँड मात्र तातेको तर भाँडो नतातेको उदाहरण दिँदै भने– ‘ढुक्क हुनुस्, मन्त्रिपरिषद् अहिले नै अदल–बदल हुँदैन।’

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement