ओलीको मृगौला फेरि फेरिने, स्वदेशमा फेर्ने कि विदेशमा ? टुँगो लाग्न बाँकी

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा।डा। प्रेमराज ज्ञवालीले बताएका छन् । शरीरमा भएको बिकार बाहिर निकाल्ने प्रक्रियाअन्तर्गत हेमोडायलाइसिस गरिन्छ । तर, रगतमा बिकारको मात्रा अत्यधिक भएमा र तत्कालै उपचार गर्नुपर्ने भएमा अल्ट्रा–फिल्ट्रेसन प्रक्रिया अपनाइन्छ ।

पिसाब कम भएको सिकायत भएपछि १३ कात्तिकमा उनलाई अस्पताल लगिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो । मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा ‘स्टेन्ट’ राखेर खुलाउने गरिन्छ । सो ‘स्टेन्ट’ले काम गरे÷नगरेको निश्चित गर्न ओलीलाई शनिबार अस्पताल लगिएको थियो । तर, यो पद्धति फलदायी नभएको निष्कर्षसहित शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।

अस्पताल पुगेको वेला मिर्गौलाको स्वास्थ्य परीक्षण गर्ने प्रस्ताव चिकित्सकहरूले राखेका थिए । तर, प्रधानमन्त्रीले ‘म स्वस्थ छु, अहिले कुनै परीक्षण गर्नुपर्दैन’ भन्दै थप परीक्षणमा अनिच्छा देखाएका थिए । तर, चिकित्सकले उनलाई सम्झाए, ‘तपाईंको स्वास्थ्य प्रतिकूल छैन, अस्पताल आएको वेला रगत जाँची हेरौँ, हानि केही हुँदैन ।’

रगतको रिपोर्ट भने प्रधानमन्त्रीले अपेक्षा गरेजस्तो आएन । क्रियाटिनिनको मात्रा बढेर ६.३ मिलिग्राम प्रतिशत पुगेको अस्पताल स्रोतले जनाएको छ । क्रियाटिनिनको मात्रा उच्च देखिएपछि उपचारमा संलग्न चिकित्सकले तत्कालै प्रधानमन्त्रीको हेमोडायलाइसिस सुरु गरेका थिए । तीन घन्टा हेमोडायलाइसिस गरेर प्रधानमन्त्री शनिबार नै बालुवाटार फर्किए ।

प्रधानमन्त्रीको क्रियाटिनिन ६.३ पुगेको हो भने मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ भन्ने बुझिने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । ‘प्रधानमन्त्रीको उमेरअनुसार उहाँको मिर्गौलाले दश प्रतिशतभन्दा कम काम गरिरहेको देखिन्छ । ६.३ क्रियाटिनिन देखिएमा अब मिर्गौलाले काम गरिरहन सक्ने अवस्था देखिएन । बिरामीको भलाइका लागि नियमित डायलाइसिसमा बस्नुपर्छ अथवा प्रत्यारोपणमा गइहाल्नुपर्छ । औषधि मात्रै खाएर बस्दा स्वास्थ्य राम्रो हुँदैन,’ डा. काफ्लेले भने ।

प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेका छन् । प्रत्यारोपण कहिले गर्ने र स्वदेशमा गर्ने कि विदेशमा भनेर छलफल भइरहेको छ । शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका छन् । चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका छन् । ‘हामी काठमाडौंमै प्रत्यारोपण गर्न सक्छौँ, अहिलेसम्म हामीले गरेका प्रत्यारोपण सफल छन्, प्रधानमन्त्रीले पनि यहीँ उपचार गर्दा कुनै जोखिम हुँदैन, सफल भइन्छ र त्यसपछि उहाँ काममा फर्कन सक्नुहुन्छ भनेर हामीले विश्वास दिलाइरहेका छौँ,’ उपचारमा संलग्न चिकित्सकले भने । उनीहरूको भनाइमा प्रधानमन्त्री विश्वस्त छन्, तर सल्लाहकारहरूले भने सकेसम्म विदेशमै गएर प्रत्यारोपण गर्न सुझाब दिइरहेका छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement