चितवन, नेसनल र नोबल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

‘मागिएका कागजपत्र दिन अटेर गरेपछि छापा हानेर नियन्त्रणमा लिइएको हो,’ विभागका एक अधिकारीले भने, ‘ठगी गर्ने मेडिकल कलेजमाथि कारबाही गर्न प्रधानमन्त्रीज्यूबाटै निर्देशन आएपछि छानबिनमा तीव्रता दिइएको छ ।’ चितवन मेडिकल कलेजका हरिश न्यौपाने, नेसनलका बसुरुद्दिन अन्सारी र नोबेलका मुख्य सञ्चालक सुनील शर्मा हुन् । उनीहरूले विभागको अनुसन्धानलाई असहयोग गर्दै आएका थिए । विद्यार्थीसँग लिइएको शुल्कको विवरण तथा सञ्चालकहरूको सेयर संरचनासम्बन्धी कागजपत्र विभागले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको छानबिन रिपोर्टसमेत प्रधानमन्त्री कार्यालयले विभागमा पठाइसकेको छ । मेडिकल कलेजहरूले पछिल्लो तीन वर्षमा विद्यार्थीहरूबाट करिब तीन अर्ब रुपैयाँ ठगी गरेको रिपोर्ट केन्द्रले तयार पारेको थियो । त्यही रिपोर्टलाई आधार बनाएर विभागले छानबिनमा तीव्रता दिएको हो । छानबिनका क्रममा मागेको कागजपत्र नदिएर लुकाउने र आलटाल गरेपछि विभागले छापा हानेको हो । ‘जुन मेडिकल कलेजले कागजपत्र लुकाउने सम्भावना छ त्यसैका आधारमा छापा हानिएको हो,’ विभागका एक अधिकारीले भने, ‘छानबिन त सबैमाथि चलिरहेको छ ।’

अनुसन्धानलाई असहयोग गर्ने र प्रभावित गर्ने काम गरेकामा सञ्चालकलाई नै पक्राउ गर्न विभागका महानिर्देशक रूपनारायण भट्टराईले अनुसन्धान अधिकृतहरूलाई निर्देशन दिएका छन् । विभागले उपसचिवहरूलाई अनुसन्धान अधिकृत तोकेर छानबिन गरिरहेको छ ।

यता शिक्षा मन्त्रालयले विद्यार्थीहरूबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई दोस्रोपटक २४ कात्तिकमा दिएको १५ दिने अल्टिमेटम पनि सकिँदै छ । तोकिएको समयमा रकम फिर्ता नगरे कलेजका सञ्चालकहरूलाई ठगी मुद्दामा कारबाही गर्ने गृह मन्त्रालयको तयारी छ । अल्टिमेटम सकिएपछि विद्यार्थीहरूसँग ठगीको उजुरी लिएर सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

विभागले सबै मेडिकल कलेजको सम्पत्ति छानबिन सुरु गरेपछि कतिपय कलेज सञ्चालकले हतारहतार आफन्तको नाममा सेयर नामसारी गरेका छन् । गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले आफन्त नाममा सेयर नामसारी गरिसकेका छन् भने अन्य केही सञ्चालकले बेचेका छन् । हाल विभागले सबै मेडिकल कलेजका सञ्चालकहरूको सेयर रोक्का गरेर आफन्तको नाममा रहेको सम्पत्तिसमेत छानबिन गर्दै छ ।

नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मा हुन् । १०० प्रतिशत सेयर उनकै नाममा छ । अरु सामान्य लगानीकर्ता यसअघि नै बाहिरिसकेका छन् । चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिश न्यौपाने हुन् । अधिकांश सेयर उनकै नाममा र केही आफन्तको नाममा छ । नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक डा. जैनरुद्दिन अन्सारी हुन् । कलेजको एमडीका रूपमा बसुरुद्दिन अन्सारी छन् । कलेजको स्वमित्व यी दुईको नाममा छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement