‘पेट घट्नु भनेको 'ह्याण्डसम' हुनु हो, भन्सार राजश्व घट्नु भनेको अर्थतन्त्र बलियो हुनु हो’

Advertisement

काठमाडौँ । ‘२२ वर्षे निजामति करिअरमा तेश्रो पटक भन्सार विभागको यात्रा, राजश्व लक्ष्य पुर्याउने र व्यापार सहजीकरणको चुनौती’, यस्तो जिम्मेवारी बोक्ने काँध हो सुमन दाहालको । चालु आर्थिक वर्षमा भन्सार विभागले ४ खर्ब ७३ अर्ब राजश्व उठाउने जिम्मेवारी पाएको छ । कात्तिक मसान्त सकिँदासम्म एक खर्ब २३ अर्ब राजश्व संकलन भएको छ, जुन लक्ष्यको ७३ प्रतिशत मात्रै हो ।

तर उनी भने भन्सार राजश्व घटेकोमा खासै चिन्तित देखिएनन् । ‘हामी पेट किन घट्यो भनेर चिन्ता गरिरहेका छौं । पेट घट्नु भनेको ह्याण्डसम हुनु हो । भन्सार राजश्व घट्नु भनेको आन्तरिक अर्थतन्त्र बलियो हुनु हो । त्यसमा दुःखी होइन खुसी हुनुपर्छ ।’, दाहालले सुनाए ।

किन घट्यो त भन्सार राजश्व
हाम्रो अर्थतन्त्र भनेको आयातमा आधारित छ । जति धेरै समान आयात भयो त्यति धेरै राजश्व उठ्ने चलन थियो र अहिले पनि त्यो कायमै छ । ‘हामी आयात प्रतिस्थापनको प्रयास गरिरहेका छौं । त्यसले स्वतः राजश्व घटाउने नै भयो । विलासिताका वस्तुहरुको आयातलाई निरुत्साहित गर्ने प्रयास भैरहेको छ । अर्काे भनेको आन्तरिक उत्पादनलाई बढाउने भन्ने सरकारी रणनीति छ ।’ दाहालले सरकारको योजनै सुनाए ।

अहिले सिमेन्ट आयात शुन्यमा झरिसकेको छ । इन्धनको आयात पनि घटेको छ, किन की विद्युतको उपलब्धता पर्याप्त भएको छ । सवारी साधनको आयात पनि स्वात्तै घटेको छ । भन्सार राजश्वमा ठूलो योगदान गर्ने वस्तुहरुको आयात घटेपछि भन्सार लक्ष्यमा त्यसको प्रभाव देखिनु स्वभाविक मान्छन् दाहाल ।

काँधमा जिम्मेवारी
‘यति बेला मेरो काँधमा ठूलै चुनौती छ । राजश्व छल्न नदिने र राम्रो तरिकाले लक्ष्य भेटाउन प्रयास गर्ने चुनौती त छदैँछ । साथमा व्यापार सहजीकरणको चुनौती पनि छ । तर म सकारात्मक सोँचसहित काम गरिरहेको छु ।’, दाहालले आफ्नो संकल्प सुनाए ।

औद्योगीकरण र आन्तरिक अर्थतन्त्रलाई माथि उठाउने सरकारको अभियानलाई सफल बनाउन उनी लागिपरेका छन् । त्यसका अलवा उद्योग व्यवसायलाई थप व्यवस्थित र पारदर्शी बनाउनु पनि आवश्यक रहेको उनी ठान्छन् । ‘सरकारले चाहेका काम गर्ने बिभिन्न निकायहरुमध्ये धेरै काम गर्ने जिम्मेवारी बोक्ने ठाँउमा म छु । त्यसकारण यो चुनौती पूर्ण नै छ ।’, दाहालले चुनौती पनि सम्झिए ।

उनी राजश्व संकलनको लक्ष्य भेट्टाउने र व्यापार सहजीकरण गरि लागत घटाइदिने आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गर्ने दावी गरिरहेका छन् । ‘५० वटा निकाय सहभागी रहेको व्यापार सहजीकरण समिति छ, म त्यसको संयोजक हुँ, त्यहिँबाट राष्ट्रिय स्वार्थको रक्षा पनि गर्नु छ । अखाद्य र अनावश्यक वस्तुको आयात पनि रोक्नु छ ।’, दाहालले सुनाए ।

भन्सार विभागमा तेश्रो इनिङ
दाहाल प्रशासन सेवाका कर्मचारी हुन् । यतिबेला उनी भन्सार विभागमा तेश्रो इनिङका रुपमा नेतृत्व सम्हालिरहेका छन् । यस अघि २०७२ सालमा प्रशासनको उपसचिव भएर भन्सारमा विभागमा ६ महिना काम गरेका थिए । हालका राजश्व सचिव शिशिर ढुंगाना त्यतिबेला विभागको महानिर्देशक थिए । दाहालले ढुंगानाबाट भन्सारका धेरै कुरा सिक्ने अवसर पाएको पनि बताए ।

विभागमै हुँदा उनले सह सचिवमा नाम निकाले र ६ महिना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काम गरे । त्यसपछि उनलाई भन्सार विभागकै उप महानिर्देशक बनाएर खटाईयो, त्यतिबेला उनले त्यहाँ करिब ६ महिना काम गरे । उनी पुनः अर्थमन्त्रालय तानिए र त्यहाँको प्रशासन महाशाखामा खटाईए, जहाँ उनले १४ महिना काम गरे ।

राजश्व संकलन र प्रशासनमा खासै सुधार नभएपछि उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १६ गते भन्सार विभागको कमाण्ड सुम्पिएका थिए । ‘म तेश्रो पटक भन्सार विभागमा आएको छु, अर्थमन्त्रीज्यूले गर्नु भएको विश्वास र आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्छु’, दाहालले प्रतिवद्धता व्यक्त गरे ।

के हो भन्सार ?
भन्सार भनेको ४५ वटा भन्दा बढी निकायसँग सम्बन्धित कार्यालय हो । भन्सारलाई आयात र निर्यातमा कर असुल्ने निकायका रुपमा मात्रै बुझिनु गलत हुन्छ । यसको क्षेत्र वृहत्तर छ । ‘यो कृषि विभाग, पशु सेवा विभाग, क्वारेन्टाइन, उद्योग विभाग, बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, गुणस्तर तथा नापतौल विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका ४५ भन्दा बढी निकायसँग प्रत्यक्ष सम्बन्धित रहन्छ । त्यसमा उद्योग बाणिज्य महासंघ लगायतका निकायसँग पनि सम्बन्धित छ ।’, दाहालले भने ।

२ वर्षपछि हुनेछ चमत्कार
भन्सारसँग सम्बन्धित सबै निकायहरुसँग घरमै बसेर काम गर्नका लागि विभागले नेपाल नेशनल सिंगल विन्डो सिस्टम(एनएनएसडब्ल्युएस) प्रणालीको विकास अघि बढाएको छ । सिंगल विण्डोले भन्सारसँग सम्बन्धित सबै निकायलाई समेट्छ । व्यापार सहजीकरणमा सघाउँछ । ‘कसैले खानेकुरा आयात गर्यो भने खाद्य प्रबिधि विभागमा गुणस्तर परिक्षणका लागि जानु पर्दैन्, भन्सारमै त्यो पहिचान हुन्छ, त्यो पनि प्रबिधिको उपयोग मार्फत । भन्सारबाट देश छिर्ने कुनै पनि वस्तुको गुणस्तर वा अन्य कुनै कुरा परिक्षणका लागि सम्बन्धीत निकायमा जानु पर्दैन । भन्सार बिन्दुमै प्रणालीले चेकजाँच गरिदिन्छ ।’, दाहालले उत्साहित हुँदै भने ।

उनका अनुसार आयातकर्ताले अपलोड गरेको सूचनाका आधारमा सम्बन्धित कार्यालयले आफ्नै ठाउँबाट त्यस्तो सूचना ठिक हो वा होइन भन्ने प्रमाणित गरिदिन सक्छ । यसका लागि विश्व बैंकले ७० करोड रुपैयाँ सहयोग गरेको छ । आगामी २ वर्षभित्र सम्पन्न गरि सञ्चालनमा ल्याउने योजनासाथ काम अघि बढिसकेको छ ।

‘वेभ फाउन्टेन नामको कम्पनीले ठेक्का पाईसकेको छ । उसले २ महिना अघि नै ठेक्का लिएर काम थालिसकेको छ । २ वर्षभित्र कार्यान्वयनमा आउँछ ।’, दाहालले जानकारी दिए । यो प्रणालीमा सुरुमा २४ वटा ठुला भन्सार कार्यालयलाई समेट्ने तयारी छ । त्यसपछि थप ६ वटा ठूला भन्सार कार्यालयमा लागु गर्ने विभागको तयारी छ ।

हाल देशभर ३० वटा ठुला भन्सार कार्यालय छन् । तिनले ९९.९० प्रतिशत आयात निर्यातको हिस्सा ओगट्छन् । अहिले २४ वटा ठुला भन्सार कार्यालयमा आशिकोडा सिस्टम लागु गरिएको छ । उत्तरतर्फका केहि भन्सार कार्यालयहरु किमाथाङका, ओलाङचोङगोला, यारी र कोरला भन्सारमा भने आशिकोडा लागु गर्न समस्या भैरहेको दाहालले बताए । नेपाल नेशनल सिंगल विण्डो सिस्टम अर्थात एनएनएसडब्ल्युएस प्रणालीमा २१ वटा निकाय तथा कार्यालयलाई समेट्ने तयारी छ ।

सेन्ट्रल क्लियरेन्स सिस्टम पनि
विभागले भन्सार जाँचपासका लागि ‘सेन्ट्रल क्लियरेन्स सिस्टम’ ल्याउँदैछ । यो प्रणाली कार्यान्वयनमा आएपछि सिमा नाकामा बसेर भन्सार क्लियर गर्नु पर्दैन । सिमा नाकामा भन्सार विभागले एउटा स्टिकर टास्छ । बाँकी सबै इनल्याण्ड कन्टेनर डिपो(चोभारमा निर्माण भैरहेको छ)मा आएर भन्सार क्लियर हुन्छ । ‘बिरगञ्जबाट छुटेको कन्टेनर सिधै चोभार आउँछ । त्यहिँ भन्सार क्लियर गरिन्छ । यहीँ जाँचपास हुन्छ । यो अन्तराष्ट्रियस्तरमा पनि अभ्यास हुँदै आएको छ ।’, दाहालले भोलीको सहज प्रक्रियाको जानकारी दिए ।

अहिले कसरी चल्छ भन्सार ?
भन्सार प्रति आम मान्छेको बुझाई गलत छ । भन्सार भन्ने वित्तिकै समान ल्याउँदा बाटोमा दुःख दिने निकाय हो भन्ने आम बुझाई छ । बिरगञ्जबाट दैनिक पाँच सय वटा ट्रकमा समान आउँछन् । ति सबै ट्रक खोलेर एक एक गरि हेर्न सकिन्न । त्यसका लागि विभागले भन्सार नाकामा ग्रीन(हरियो), एल्लो(पँहेलो) र रेड(रातो) च्यानल बनाएको छ । ग्रीन च्यानलबाट राम्रो इतिहास भएका कम्पनीहरुको समान आयात हुन्छ । यो च्यानलबाट समान ल्याउनेहरुको कागजपत्र पनि हेरिन्न । पँहेलो(एल्लो) च्यानलबाट समान ल्याउनेहरुको डकुमेन्ट हेरिन्छ, मूल्यसूचि जाँचिन्छ । तर रेड च्यानलबाट समान ल्याउनेहरुको समान नै हेरिन्छ ।

ग्रीन च्यानलबाट समान ल्याउनेहरुको समान बाटोमा समातियो भने धेरै ठुलो जरिवाना र सजाय हुन्छ । आयातकर्ताहरुको ट्रयाक रेकर्डका आधारमा रेड, एल्लो र ग्रीन च्यानल छुट्याईएको हुन्छ । यसलाई विभागले जोखिम व्यवस्थापन प्रणाली(रिस्क मेनेजमेन्ट सिस्टम) भन्ने गरेको छ । यसमा विभागले आयातकर्ता, एजेन्ट, समानको जोखिम पत्ता लगाउने र न्युनिकरण गर्छ । त्यसका लागि कम्प्युटरमा रिस्क इञ्जिनमा विवरण हालिन्छ र आयातित वस्तुहरुको जोखिम मूल्यांकन हुन्छ । त्यस बाहेक अहिले २४ वटै भन्सार कार्यालयमा आइपी क्यामेरा(इन्टर्नल पोर्टेबल क्यामेरा) छ ।

ति भन्सारको गेट देखि यार्डसम्म क्यामेरा फिट गरिएका छन् । ती क्यामेराहरुको निगरानी भन्सार विभागबाट गरिन्छ । त्यहाँ आयात कर्ताहरुको समान र मूल्यको घोषणालाई विभागका कर्मचारीले केन्द्रमा बसेर निगरानी र मूल्यांकन गर्छन् । ‘हाम्रो १५ जना प्राबिधिकहरुको टिमले त्यस्तो विवरण प्रिन्ट गरेर आन्तरिक मूल्यांकन गरिरहेको हुन्छ । त्यसरी हामी अनलाइनबाट रियल टाइम मोनिटरिंग गर्छाै । जुन नेपालमा अन्य कुनै सरकारी निकायमा छैन’, दाहालले सगौरव सुनाए ।

को हुन दाहाल
उनी आज भन्दा २२ वर्ष अघि निजामति सेवामा प्रवेश गरेका हुन् । नायब सुब्बाबाट आरम्भ भएको उनको करिअर यतिबेला सहसचिवसम्म पुगेको छ । उनले जापानको ‘द युनिभर्सीटी अफ टोकियो’बाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेका छन् । विश्व बैंकको छात्रवृद्धिमा उनले टोकियोमा अध्ययनको अवसर पाएका थिए । त्यसबाहेक त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एमपीएका साथै कानुन संकायमा एलएलबी पनि पास गरेका छन् ।

Advertisement

Advertisement

Advertisement