अध्यागमनभित्रको कमिशनको जालो भत्काउने गृहको दावी

Advertisement

काठमाडौं । अध्यागमन नाकाहरूबाट हुने मानव तस्करीको सेटिङ तोड्न गृह मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी नै संगठित रूपमा तस्करीमा संलग्न पाइएपछि त्यस्ता गतिविधि रोक्न मन्त्रालय लागेको हो।

अध्यागमनबाट यात्रु फर्किएको गुनासो बढेपछि मन्त्रालयले आवश्यक कागजपत्रवाहकलाई नरोक्न निर्देश गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाले आवश्यक कागजपत्रसहित आउने यात्रुलाई नरोक्न अध्यागमन विभागलाई निर्देशन दिएका हुन्।

पर्यटक प्रवेशाज्ञा (भिसा)वाहक नेपालीलाई कर्मचारीले अनेक बहानामा रोक्दै आएका थिए। यात्रुले आवश्यक कागजपत्र देखाउँदा पनि ‘शंकास्पद यात्रा’ को संज्ञा दिँदै उनीहरूले रोक्ने गरेका थिए। फर्काइएकाहरूसँग चर्को पैसा असुल गरी प्रस्थान अनुमति दिने गरेका थिए।

अध्यागमन डेस्क अधिकृतले तजबिजी अधिकार प्रयोग गरी हचुवाका भरमा यात्रुलाई फर्काएको मन्त्रालयको ठहर छ। त्यस्ता तजबिजी निर्णय रोक्न मन्त्रालयले मापदण्ड ल्याएको हो। कालोसूचीमा रहेका र शंकास्पद यात्रा गर्नेलाई भने प्रस्थान अनुमति नदिइने मापदण्डमा उल्लेख छ।

तोकिएको कागजपत्र लिएर आउने जो कोही यात्रु अब गन्तव्य मुलुक जान सक्ने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। ‘आवश्यक कागजपत्र लिएर आउने यात्रुहरू अध्यागमनबाट फर्कनुपर्ने छैन’, महानिर्देशक पौडेलले भने। अध्यागमनका कर्मचारीले सेटिङ गर्ने गरेकोबारे उनले भने, ‘कसैले पैसा दिएर प्रस्थान अनुमति लिन्छु भन्नु गलत हो। पैसाको बार्गेनिङ भएको छ भने हामीलाई खबर गर्नुहोस्। जो भए पनि तत्काल कारबाही गर्छौं।’

पर्यटक भिसावाहक नेपालीबाट सेटिङ गर्दा प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म लिने गरेको स्रोतले बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीमा संलग्न रहेको आशंकामा केही कर्मचारीबारे अनुसन्धान गरिरहेको छ। केही अधिकारीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा चलाएको छ। अख्तियारले होस् वा मन्त्रालयले, जसले कारबाही गरे पनि अध्यागमनको सेटिङ नरोकिएको स्रोतको दाबी छ। स्रोतअनुसार जति कडाई गर्‍यो अध्यामगनका अधिकृतले सेटिङको मूल्य उति नै बढाउने गरेका छन्।

खासगरी खाडी मुलुक जाने नेपालीका हकमा अध्यागमन कर्मचारी सेटिङमा चल्ने गरेको स्रोत बताउँछ। सेटिङ मिलेकाहरूको कागजपत्र नहेर्ने तर कागजपत्र भएकाहरूलाई विभिन्न बहाना निकाल्दै प्रस्थान अनुमति दिँदैनथे। आफैंले फर्काएकासँग सेटिङ मिलाएर प्रस्थान अनुमति दिने गरेको स्रोत बताउँछ। उनीहरूले शंकाका भरमा पर्यटक भिसावाहक नेपालीलाई बिनाकारण फर्काउँदै आएका थिए।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement