नब्बे प्रतिशत सकियो दरबार हाई स्कूल पुनर्निर्माण, फागुन १५ सम्म सक्ने गरी धमाधम काम

Advertisement

काठमाडौँ । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्माण ९० प्रतिशत सकिएको छ । आगामी फागुन १५ गतेसम्ममा सक्नेगरी पुनर्निर्माणको काम धमाधम भइरहेको छ । समग्रमा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले रङ लगाउने, शौचालय निर्माण गर्ने काम भइरहेको जनाइएको छ ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको छ । तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठा हुने भएको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताउनुुभयो ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त हाई स्कूल को पुनर्निर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पाउने भएका थिए ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिने बताइएको छ । शुरुमा निर्माण गर्दा माटो, इँट्टा र सुर्खी, माटो र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरीमात्र विद्यालयमा अध्ययन गर्न आउने गरेको संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए ।

भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनर्निर्माणको काम शुरु भएको हो ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक–एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । गोरखा भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको र हालसम्म तीन हजार ६०० विद्यालय भवन निर्माण भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएकोे छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ ।

Advertisement

Advertisement

Advertisement