वैदेशिक व्यापारमा सकारात्मक संकेत, निर्यात १४ प्रतिशतले बढ्दा आयात १० प्रतिशतले गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा सकारात्मक तथ्यांक देखा परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त अवधिको विवरणअनुसार कुल वस्तु निर्यात १४ दशमलव चार प्रतिशतले बढेको छ भने आयात १० दशमलव ३ प्रतिशतले घटेको छ ।

रकमको हिसावले समीक्षा अवधिमा २७ अर्ब १७ करोड रुपियाँको निर्यात भएको छ । गन्तव्यको आधारमा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ १९ दशमलव नौ प्रतिशतले बढेको छ । नेपालको मुख्य व्यापार भारत, त्यसपछि चीनसँग रहेको छ । अन्य मुलुकतर्फ भने ११ दशमलव सात प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आलुर्वेदिक औषधि, जुटका सामान, धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोषाक, उनी गलैंचा तारको निर्यात घटेको छ ।

त्यस्तै आयातर्फ तीन महिनामा तीन खर्ब ३४ अर्बको सामान आयात भएको छ । गत बर्ष सोही अवधिमा ४३ दशमलव छ प्रतिशतले आयात बढेको थियो । भारतबाट आयात हुने वस्तु १२ दशमलव दुई प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फ १९ दशमलव एक प्रतिशतले घटेको छ । चीनतर्फको आयात ११ दशमलव छ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएम बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण र पार्टपुर्जाको आयात घटेको छ ।

समग्रमा कुल तीन महिनाको वैदेशिक व्यापार घाटा १२ प्रतिशतले संकुचन भई तीन खर्ब सात अर्ब रुपियाँ कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement