केपी ओलीलाई कार्यकर्ताको प्रश्नः गोकर्ण बिष्ट असफल, बिना मगर सफल कसरी ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेपछि नेकपा कार्यकर्ताले व्यापक असन्तुष्ठि व्यक्त गरेका छन् । नेकपाकै कार्यकर्ताहरुले गोकर्ण बिष्ट असफल मन्त्रीका रुपमा बाहिरिँदा बीना मगर र गोकुल बास्कोटाहरु कसरी सफल भए ? भन्ने प्रश्न गरेका छन् ।कमजोर कार्य सम्पादन भएकाहरुलाई निरन्तरता दिएर राम्रा मन्त्रीहरुलाई हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना भएको हो ।

बिशेषगरि श्रम मन्त्री गोकर्ण बिष्टको बहिर्गमनलाई लिएर कार्यकर्ताहरुले प्रश्न गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा बिना मगर, गोकुल बास्कोटा जस्ता मन्त्रीहरुले निरन्तरता पाउँदा गोकर्ण बिष्ट कसरी असफल भए भन्ने प्रश्न तेर्स्याएका छन् ।

नेकपाका कार्यकर्ता देवराज न्यौपानेले फेसबुकमा लेखेका छन-'थप कार्यकालको शुभकामना सफल मन्त्री विना मगर, गोकुल बास्कोटालाई, बिदाइ छ असफल मन्त्री गोकर्ण बिष्ट, लालबाबु पन्डितलाई, अब प्रधानमन्त्रीको सपना पुरा हुने भो । ‘समृद्ध नेपाल सुखी नेपाली’ ।
जय अध्यक्षज्युहरु
जय नेकपा ।
चाप्लुसीवाद, नातावाद जिन्दावाद'



अनेरास्ववियूका केन्द्रिय सदस्य अशोक थापाले फेसबुकमा लेखेका छनः सबै भन्दा लुटाहाहरुको अखडा वैदेशिक रोजगारीमा सुधार हुँदै थियो । पासपोर्ट उचालेर खाडी उड्नेहरुले सुरक्षीत महशुस गर्दै थिए । बिदेशमा बिरामी परेकाहरुको उद्दार छिटो हुँदै थियो ।नयाँ युग अर्थात सामाजिक सुरक्षा कोषले गति लिदै थियो । श्रमिकको पारिश्रमिक वृद्धि हुँदै थियो । शून्य लागतका गन्तव्य खोजिदै थियो । यति अपराध गरेपछी गोकर्ण बिष्टलाई निकाल्नै परो नि । सुखी नेपाली, समृद्ध नेपाल ।



नेकपाका कार्यकर्ता शिव फुयालले पनि मन्त्रीमण्डल पुनर्गठनमा असन्तुष्टि पोखेका छन् । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको सचिवालय नजिक रहेका फुयालले फेसबुकमा लेखेका छन-'गोकर्ण बिष्टको जीवन शैली साच्चै अनुकरणिय छ।
उनको निवास बाट सरकारी गाडीमा ओहोरदोहर उनको परिवारका सदस्यहरुले गरेको देखिएन।
मन्त्री भैरहेको बेला र मन्त्रीबाट हटदा कुनै फरक ब्याबहार देखिएन।
बिचार सिदान्तको आधारमा ब्यबहार गर्नु पर्छ पद जिम्मेवारी हेरफेर भै रहन्छ तर जीवन शैली सधै एकैनासको गर्नु सक्नु नै राम्रो पक्ष लाग्यो मलाई।
न उन्माद न निरास ।
किन साच्चै उच्च नैतिकता भएकाहरु नै हटनु पर्ने हो?उनका ठाउमा आएका उनी भन्दा नैतिकवान र योग्य भएर हो ? अहिलेलाई प्रश्न मात्र उतरको संभावना छैन ।'



त्यसो त अर्का मन्त्री लालबाबु पण्डितको बहिर्गमन प्रति पनि कार्यकर्ता सन्तुष्ठ देखिएनन् । अघिल्लो पटक मन्त्री हुँदा डीभीपिआर धारीहरुलाई सरकारी सेवामा बन्देज लगाएका पण्डितले यसपाली अपेक्षाकृत काम गर्न सकिरहेका थिएनन् ।

उल्लेख्य सुधार गर्न नसकेपनि बिग्रनबाट भने पण्डितले रोकेकै थिए । कर्मचारी समायोजनमा उनले ठूलै हिम्मत गरेका थिए । आफ्नै पार्टी निकटका कर्मचारी नेताहरुको अनिच्छाका बावजुद पनि उनले कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटाएरै छाडेका थिए ।

गोकर्ण बिष्ट र लालबाबु पण्डितहरु असफल मन्त्रीका रुपमा दरिदाँ बिना मगर र गोकुल बास्कोटाहरु कसरीी सफल भए भन्ने प्रश्न कार्यकर्ताले गरिरहेका छन् ।

कसरी परे कोपभाजनमा ?
बिष्ट र पण्डित दुबै नेकपामा माधव नेपाल निकट भनेर चिनिन्छन् । प्रधानमन्त्री ओली निकटका नेताहरुले बरिष्ठ नेता माधव नेपालकै इच्छा अनुसार बिष्ट र पण्डितलाई हटाईएको भनेर आरोप लगाईरहेका छन् । तर नेपाल निकट श्रोतले भने मन्त्रीहरु हटाउने र नयाँ नियुक्त गर्ने विषयमा बरिष्ठ नेता नेपालसँग कुनै सल्लाह नभएको बतायो ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग मिलेर राष्ट्रपतिको प्रत्यक्ष रोहबरमा मन्त्रीण्डलल हेरफेर गरेको नेता नेपाल निकट श्रोतले बतायो ।

Advertisement

Advertisement

Advertisement