मिसन साग: ५० स्वर्ण लक्ष्य, नेपाल चिनाउने अवसर

Advertisement

काठमाडौं । ‘तीन सय १९ स्वर्ण पदकका लागि २७ खेलमा प्रतिस्पर्धा हुनेछ, हामी कम्तिमा पनि ५० स्वर्ण जितेर दोस्रो स्थान ओगट्ने छौं’, यो महत्वकाँक्षी अपेक्षा हो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालको । दक्षिण एसियाली देशहरुको खेलकुद प्रतियोगिता सागको १३औं संस्करण यही मंसिर १५ गतेदेखि आरम्भ हुँदैछ ।

छोटो समयको प्रशिक्षण, न्यून लगानी, कमजोर पूर्वाधार र राजनीतिक खिचातानीले खेलकुद क्षेत्र शिथिल बनिरहेको अवस्थामा ५० वटा स्वर्ण पदकको अपेक्षा संभव छ ? भन्ने प्रश्नको जवाफमा सिलावल भन्छन्– ‘खेलाडीलाई बन्द प्रशिक्षणसहित यथेष्ट तालिम दिएका छौं । १३ वटा खेलको बन्द प्रशिक्षणको क्लोज क्याम्प असार अघि नै आरम्भ गरेका थियौं । बाँकी खेलका लागि साउन मसान्तपछि नै बन्द प्रशिक्षण आरम्भ गराएका थियौं । २१ वटा खेलहरुको प्रशिक्षणका लागि खेलाडीलाई विदेश पठायौं भने आठ वटा खेलका लागि विदेशी प्रशिक्षक ल्याएका छौं । र खेलाडीहरुलाई आफ्नो स्तरभन्दा माथिका प्रतियोगिताहरुमा सहभागी गराएर एक्सपोजर पनि दिएका छौं । यसले सागमा हाम्रो नजिता राम्रो हुने अपेक्षा गरेका छौं ।’

कस्तो छ तयारी ?
१३ औं साग अरु संस्करण भन्दा विलकुलै फरक हुने सिलवालको दावी छ । सागको इतिहासमा सबैभन्दा धेरै खेल समावेश हुँदैछन् । भूकम्पपछि दशरथ रंगशाला पुनर्निर्माण गरेर पहिलो पटक प्रयोग गरिँदैछ । अब्बल भौतिक पूर्वाधार तयार पारिएको उनी बताउँछन् । व्यवस्थापनमा सबै शक्ति खर्च गरिरहेकाले नेपालका लागि यो नयाँ सिकाई हुने पनि उनले बताए । सिलवाल भन्छन्, ‘नेपालले पनि अन्तराष्ट्रियस्तरका प्रतियोगिताहरु राम्रोसँग सञ्चालन गर्न सक्छ भन्ने सन्देश यसपाली दिन्छौं र नेपालको मान प्रतिष्ठा यसले वृद्धि गराउनेछ ।’

उनले १३ औं सागलाई भव्य र सभ्य बनाउन भारतले आयोजना गरेको १२ औं सागका सबै भिडियो हेरेका रहेछन् । सोही आधारमा त्यो भन्दा कसरी राम्रो गर्ने ? भन्ने योजना बनाएको पनि उनी सुनाउँछन् । तर भारतले भन्दा निकै कम लागतमा त्यो भन्दा राम्रो प्रतियोगिता आयोजना गर्नु कम चुनौती पूर्ण भने नभएको उनी पनि स्वीकार गर्छन् । सिलवाल भन्छन्, ‘भारतले १२ औं सागको उद्घाटनमा ७१ करोड रुपियाँ खर्च गरेको छ, भारतको भन्दा एक तिहाई कम बजेटमा त्यो भन्दा राम्रो कार्यक्रम गरेर देखाउँछौं ।’ उनले थपे, ‘दुईसय वटा ड्रोन प्रयोग गर्दैछौं, लेजर लाइटको प्रयोग गर्छौ, इलेक्ट्रिफिकेशन गर्दैछौं, खेलकुद सामग्री पनि राम्रा र गुणस्तरीय छन्, तीन घण्टा १४ मिनेटको उद्घाटन समारोहलाई सागको इतिहासमै उत्कृष्ठ बनाउँछौं ।’

उद्घाटन समारोहमा १५ हजार दर्शक सहभागी हुनेछन् । खेल अवधिभर भने १२ हजार सुरक्षाकर्मी, दुई हजार स्वयंसेवक तथा १५ सय कर्मचारी परिचालन हुनेछन् । यसपटकको सागमा २७ खेल समावेश गरिएका छन् । त्यसमा भलिबल र बास्केटबलका दुई दुई खेल छन् । अन्य देशका खेलाडीले सहभागीता नजनाउँदा पाराग्लाईडिङ खेल भने अन्तिम समयमा आएर नखेलाइने भएको छ ।

तीन शहरमा खेलाइँदै खेल
१३औं सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा खेलाइनेछन् । विदेशी खेलाडीहरुको बसोबासका लागि सय वटा होटल, जनकपुरमा १० र पोखरामा २५ वटा होटल बुक भइसकेका छन् । कुन खेलाडीलाई कहाँ राख्ने ? भन्ने पनि यकिन भइसकेको छ । बासस्थान, यातायात, अतिथि सत्कार र घुमघामका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

खेल पर्यटन र स्पोर्टस हब
यसपटक सागलाई अन्तर्राष्ट्रियकरण गरिँदै छ । केही भारतीय टिभीसँग सम्झौता पनि गरिसकिएको उनी बताउँछन् । १५ वटा देशमा नेपाल टेलिभिजनले सबै खेलहरुको लाइभ प्रशारण गर्नेछ । साग इतिहासमा पनि यो नयाँ प्रयोग हुने सिलवालको दावी छ । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन यसले सहयोग गर्ने उनले बताए । भारत, श्रीलंका, माल्दिभ्स, भुटान, पाकिस्तान, जापान, कोरिया, सिंगापुर, थाईल्याण्ड लगायतका देशहरुबाट साग खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ । स्पोर्टस टुरिजमका लागि पनि यसले सहयोग पुग्नेछ ।

त्रिपुरेश्वर र माइतीघरबाट खेलको काउण्टडाउन सुरु गरिएको एलइडी डिस्प्ले राखिसकिएको छ । काठमाडौं, पोखरा र जनकपुरका २५ ठाउँमा एलइडी टिभी स्क्रिनबाट प्रत्यक्ष प्रशारण गरेर सार्वजनिक स्थलमा प्रशारणको व्यवस्था गरिँदैछ ।  उद्घाटन खेलमा साग देशका सबै प्रमुखलाई निम्ता गरिएको पनि सिलवालले बताए । सबै जसो देशका खेलकुद मन्त्रीहरु आउनेछन् ।

सात सय पत्रकारहरुले सागमा सहभागीता जनाउनेछन् । तीमध्ये तीन सय विदेशी पत्रकार हुनेछन् । उनीहरुले खेल हेर्ने मात्रै नभएर नेपालका बिभिन्न गन्तव्यहरुको अवलोकन पनि गर्नेछन् । खेलाडीहरुले पनि रिफ्रेसमेन्टका लागि नजिकका पर्यटन गन्तव्यहरु हेर्नेछन् ।
साग खेलका लागि १० हजार विदेशी एकै पटक नेपाल आउँछन् भन्ने निष्कर्ष छ ।

कतिले हेर्छन साग ?
दक्षिण एसियामा दुई अर्ब जनसंख्या छ । विश्वको जनसंख्याको एक तिहाईभन्दा बढी मानिसले सागमार्फत नेपाललाई नजिकबाट चिन्नेछन् । यो देशलाई विश्व मानचित्रमा चिनाउने माध्यम बन्नेछ ।

खर्च र आम्दानी कति ?
सागमा कुल खर्च तीन अर्ब ६५ करोड रुपियाँ हुँदैछ । यसमा पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन खर्च समेटिएको छ । यसपटक केही आम्दानी गर्ने सोच पनि राखेपले बनाएको छ । टेलिभिजनको प्रत्यक्ष प्रशारणबाट आठ करोड आम्दानी हुनेछ । विज्ञापनबाट पनि कमाई हनेछ ।

‘हामी आफैंले खोजेको विज्ञापनको पूरै पैसा हामीले नै पाउछौं । विदेशीले खोजेर ल्याईदिएको विज्ञापनको पैसा आधा आधा लिने भन्ने सहमति भएको छ । हामी खेलबाट २५ देखि ५० करोड रुपियाँ आम्दानी गर्दैछौं’, सिलवालले भने ।

यति ठूलो खर्चको हिसाब किताब खेल सकिएको ९० दिनभित्रै सार्वजनिक गर्ने पनि उनले बताए । सिलवाल भन्छन्, ‘मैले जीवनमा कमाएको स्वाभिमान र इमानदारिता हो । साग सकिएको ९० दिनभित्र सबै खर्च सार्वजनिक गर्नेछु।’

सागको इतिहास
सागको पहिलो संस्करण नै नेपालले सन १९८४ मा आयोजना गरेको थियो । नेपालले ८औं सागमा १९९९ मा दोस्रो पटक आयोजना गरेको थियो । यसपटक तेस्रो पटक साग आयोजना हुँदैछ ।

पहिलो कहिले ?
यसपटक दोस्रो हुने लक्ष्य राखेको नेपालले तत्कालै पहिलो हुने सम्भावना भने देखेको छैन् । सिलवालको विश्लेषण छ, ‘हाम्रो लगानीको आकारले पनि हामीलाई तत्कालै सागमा पहिलो हुने अवस्था देखाउँदैन्, हामीले गरेको लगानी, खेलाडीले पाएको एक्सपोजर, अनुशासनका कारण पनि हामी तत्काल पहिलो हुन सक्दैनौं, अब बाह्रै महिना प्रशिक्षण दिनुपर्छ, खेलाडीहरुलाई आफूभन्दा बलिया टिमसँग प्रशस्तै प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ ।’

ramesh_silwal_goldenget_college_rakhepa

Advertisement

Advertisement

Advertisement