देउवाको आरोप– ओलीको राष्ट्रवाद चुनाव जित्ने अस्त्र मात्रै

Advertisement

पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक अंगहरुलाई सरकारले आफ्नो कठपुतली बनाउन लागेको भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । काँग्रेसनिकट कानुन व्यवसायीहरुको साधारणसभामा उनले जनताका अधिकारहरु खोज्ने काम गरे काँग्रेसले कुनै पनि हालतमा नछाड्ने बताए ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत संवैधानिक अंगहरुलाई कठपुतली बनाउन लागेको बताएका हुन् । उनले संसदबाट यो अध्यादेश कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए । जबरजस्ती गरे आफूहरु सडक आन्दोलनमा पनि जाने समेत देउवाले चेतावनी दिए ।

संवेदनशील विषयमा निर्णय गर्दा सहमतिको बाटो बन्द गरेर एक्लै अघि बढ्ने सरकारको शैलीको आलोचना गर्दै उनले संवैधानिक परिषद्लाई कठपुतली बनाउन चेतावनी दिए । देउवाले भने, ‘अख्तियारलगायत संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ती गरी सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ, कम्युनिष्ट सरकारले जनताका सबै अधिकार खोस्न लागेको छ, हामी कुनै हालतमा छाड्ने छैनौं ।’

नेता देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद चुनाव जित्ने अस्त्र मात्रै भएको आरोप लगाए । उनले ओलीको राष्ट्रवाद कालापानीमा पुगेर समर्पणवादमा परिणत भएको भन्दै राष्ट्रवाद चुनाव जित्ने खोल मात्रै बनाएको बताए । देउवाले उपनिर्वाचनमा आफूहरु विजयी हुने दावी गरे ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्षले बदमासी गर्छ भनेर नै संसद र स्वतन्त्र न्यायपालिका चाहिएको हो भन्दै सत्ता र संसद मिलेर न्यायका सिद्धान्त, प्रजातन्त्रका मुल्य र मान्यताविपरीत काम गरे लोकतन्त्र नरहने बताए । सरकार न्यायलयलगायत विभिन्न संवैधानिक अंगको अधिकार खोस्न क्रममा रहेको र सोही क्रममा संवैधानिक परिषद्सम्वन्धी अध्यादेश राष्ट्रपतिकोमा पुर्याइएको बताए ।

पौडेलले संविधान र राज्य व्यवस्थामा मन्त्रिपरिषद्भन्दा पनि माथिको संस्था संवैधानिक परिषद् रहेको बताउँदै तर प्रधानमन्त्रीले यो संस्था खल्तीमा हाल्न खोजेको आरोप लगाए । प्रधानमन्त्री तानाशाह बन्न खोजेको भन्दै उनले परिषद्लाई आफू अनुकुलमा ल्याउने गरी अध्यादेश जारी हुनु संविधानको मर्म र भावनामा आघात पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement