एक करोड २६ लाख राजश्व छली गर्ने कपडा व्यापारी बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

rajaswo

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने एक कपडा व्यापारी बिरुद्ध १ करोड २६ लाख बिगो कायम गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सप्तरी जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका ८ बस्ने देवी इम्पोर्ट एण्ड एक्सपोर्टका प्रोपाईटर देवी भगतले कपडा भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा बिहीबार मुद्दा दर्ता गरिएको हो ।

उक्त कम्पनीले भारतबाट कपडा र कपडाजन्य मालवस्तु भन्सार चोरी पैसारी गरी राजश्व चुहावट गरेको अभियोगमा भन्सारतर्फ २३ लाख ८ हजार ३६३ रुपैयाँ, मूल्य अभिबृद्धिकर तर्फ २८ लाख १ हजार ४८३ रुपैयाँ र आयकर तर्फ ७५ लाख १३ हजार ९५९ रुपैयाँ समेत गरी १ करोड २६ लाख २३ हजार ८०५ रुपैयाँ राजश्व चुहावट गरेको विभागले ठहर गरेको छ ।

उक्त कम्पनीका प्रोप्राइटर देवी भगतलाई उल्लेखित रकम असुलउपर गराई बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग दाबी सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।