८ लाख नयाँ घरको एकमुष्ट बीमा गर्दै राष्ट्रिय बीमा कम्पनी, आधा प्रिमियम सरकारले तिरिदिने

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ८ लाख भन्दा बढी संख्यामा नयाँ घरको एकमुष्ट बीमा गर्ने अवसर पाउने भएको छ । सरकारले भूकम्पपछि पुननिर्माण गरिएका ८ लाख घरहरुको बीमा गर्ने जिम्मा कम्पनीलाई दिन लागेको हो । त्यस वापत कम्पनीले बार्षिक ४० करोड रुपैयाँ भन्दा बढी प्रिमियम एक मुष्ठ प्राप्त गर्नेछ ।

हाल भूकम्प पीडितको लाभग्राही सूचिमा ८ लाख १६ हजार ५ सय २२ घर समावेश गरिएका छन् । संसदको विकास तथा प्रविधि समितिले दिएको निर्देशन अनुसार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपछि पुर्ननिर्माण गरिएका सबै घरहरुको बीमा गराउने व्यवस्था कार्यान्वयन गर्न लागेको हो । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग छलफल गरेर कार्यबिधी तयार पारिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार प्रति घर बार्षिक ५ सय रुपैयाँ प्रिमियत निर्धारण गरिएको छ । कुल प्रिमियमको आधा अर्थात २५० रुपैयाँ सरकारले तिरिदिनेछ भने बाँकी २५० रुपैयाँ नागरिकबाट असुल गरिनेछ । पुननिर्माण गरिएका घरहरुको आगामी पाँचसम्मका लागि बीमाको आधा प्रिमियम सरकारले तिरदिनेछ । त्यसपछि पनि बीमालाई निरन्तरता दिन नागरिकमा बीमा चेतना र आय श्रोत बढाउन पनि भूमिका खेल्नु आवश्यक रहेको सिइओ ज्ञवालीले बताए ।

विकास समितिको निर्देशन अनुसार प्राधिकरणको निर्देशक समितिले २०७५ भदौ २१ गते भूकम्पपछिको पुननिर्माणका क्रममा बनेका निजी घरहरुको बीमा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको निर्णय अनुसार राष्ट्रिय बीमा कम्पनीले २०७५ माघ १७ गते कार्यबिधी तयार पारेर बुझाएको थियो ।

सरकारले तिर्ने र नागरिकसँग असुलिने प्रिमियको मोडालिटीबारे सहमति नहुँदा बीमा गर्ने काम केहि ढिलो भएको पनि सिइओ ज्ञवालीले स्वीकार गरे । उनले निकट भविष्यमै कार्यबिधि पास गरेर ८ लाख भन्दा बढी घरहरुको एक मुष्ठ बीमा गरिने प्रतिवद्धता पनि विकास तथा प्रबिधि समिति बैठकमा व्यक्त गरेका थिए । समिति सभापति कल्याणी खड्काले समितिको पुर्व निर्देशन अनुसार तत्कालै भूकम्पपछि पुननिर्माण गरिएका घरहरुको बीमा गर्न भनेकी थिईन् ।