सहकारी र निजी क्षेत्रलाई धेरै कडाई नगर, बरु सत्ताले गरेका भ्रष्टाचार रोकः बाबुराम भट्टराई

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सहकारी र निजी क्षेत्रलाई धेरै बाँध्न नहुने बताएका छन् । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २०औं बार्षिकोत्सवमा उनले भने, ‘निजी क्षेत्र र सहकारीलाई बाँधेर आर्थिक संवृद्धि आउँदैन, बरु सत्ताले गरेका भ्रष्टाचार रोक्न रोकौं ।’

धेरै कडाई गरेर निजी क्षेत्र र सहकारी फस्टाउन नसक्ने भट्टराईको अनुभव छ । उनले आफू प्रधानमन्त्री तथा अर्थमन्त्री हुँदा सहकारीलाई कडाई गर्नुपर्छ भन्ने लागे पनि पछि त्यो गलत रहेर भन्ने सोच आएको बताउँदै औद्योगिकीकरण र पुँजीवादको विकासका लागि पनि सहकारी जरुरी छ भन्ने सोचेर आफ्नो पालामा सहकारी मन्त्रालय गठन गरिएको सुनाए ।

भट्टराईले अमेरिका जस्ता विकासित मुलुकहरुमा विशेषगरी कृषि क्रान्ति सहकारीमार्फत नै भएको आफूले प्रत्यक्ष देखेर आएको बताए । उनले लालीगुराँस सहकारीले राम्रो प्रगति गर्दै धेरै क्षेत्रमा लगानी गरेको बताउँदै यो प्रगति कायम राख्न आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीको विकासमा तगारो हाल्ने काम स्वम नीति निर्माताहरुबाट भएको भन्दै सहकारीको लगानीको दायरा बढाउनुपर्ने बताए । साथै, उनले मर्जमार्फत सहकारीको संख्या घटाउनुपर्ने जरुरी रहेको पनि बताए ।

पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, राजश्वमा गरेको योगदान, रोजगारी लगायतका कुरामा संस्थाले उल्लेखनीय काम गरेको बताए ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३५ हजार सहकारीमध्ये लालीगुराँस उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए । उनले सहकारीमार्फत बचत ऋण लगायत उत्पादनमूलक क्षेत्रमा काम गर्न वर्तमान सहकारी ऐन २०७४ मा संशोधन अपरिहार्य रहेको बताए ।

लालीगराँसका सदस्य करिव २१ हजार पुगेको सो संस्थाले जनाएको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म संचालन गरेको छ भने गोदावरीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिरहेको छ । त्यसबाहेक संस्थाले जलविद्युत आयोजना, अस्पताल, कलेज आदिमा पनि लगानी गरेको छ । संस्थाले चाँडै काठमाडौंको नयाँ बजार, महाराजगञ्ज, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement