'एग्रेशिभ' होइन, 'इथिकल' बैंकिङ र स्थिर लाभांशः अधिकारी

Advertisement

काठमाडौं । १६ वर्षको बैंकिङ करिअरमै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन कृष्णबहादुर अधिकारी । विसं २०६१ साल कात्तिक १६ गते नेपाल बैंकमा असिस्टेन्ट मेनेजरबाट जागिर सुरु गरेका अधिकारी २०७६ असोज १२ गते त्यही बैंकको सीईओ बन्न सफल भए । त्यसबीचमा उनले डेपुटी म्यानेजरबाट एकै पटक सिनियर म्यानेजर हुँदै चिफ म्यानेजर र २०७५ चैत १२ गतेदेखि निमित्त सीईओको जिम्मा पाए ।

यति छोटो अवधिमा यस्तो सफलता कसरी सम्भव भयो ? अधिकारीको जवाफ सरल छ– ‘मैले बैंकिङ करिअर १६ वर्ष पुग्दानपुग्दै सीईओको जिम्मेवारी पाएँ, सामान्यतया २५/२६ वर्ष काम गरेपछि मात्रै सीईओ बन्ने अवसर आउँछ, मेरो यो सफलतामा मेहनत र लगनशीलताको प्रतिफल हो ।’ उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट ईएमबीएसम्मको अध्ययन गरेका छन् । यतिबेला अधिकारीको काँधमा नेपालको पहिलो बैंक नेपाल बैंकको जिम्मेवारी छ । त्यो जिम्मेवारी पूरा गर्न उनी बिहान ८ बज्दा नबज्दै कार्यालय पुग्छन् र साँझ ८ बजेसम्म काम गर्छन । उनी भन्छन्, ‘म बिहान ८ बजेअघि नै अफिस आईसक्छु र बेलकुी ८ बजेसम्म पनि काममै हुन्छु, कोर अफिस आवरमा काम गर्नुपर्छ भनेर तपाईंहरुलाई पनि बिहानै बोलाएको हुँ ।’

बैंकले लगानीकर्ताहरुलाई २३ वर्षपछि लाभांश वितरण गर्ने निर्णय गरेको छ, १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश । यसले सेयरधनीहरुमा उत्साह थपिएको छ । अब लाभांशलाई निरन्तरता दिने चुनौति अधिकारीको काँधमा छ । उनी भन्छन्, ‘हामी स्थिर लाभांश वितरण गर्ने योजनामा छौं । अर्को वर्ष पनि यसपालिकै जति लाभांश दिन सकियोस् भनेर लागिपरेका छौं ।’ यसको अर्थ नेपाल बैंकका सेयरधनीहरुले अर्को वर्ष पनि यही अनुपातमा लाभांश पाउने संभावना रहन्छ ।

पूरानो प्रभावबाट उम्किने प्रयास
बैंकमा बहुमत सेयर स्वामित्व नेपाल सरकारको छ । त्यसकारण यहाँ पनि सरकारी कार्यशैली झल्किने चिन्ता सबैमा हुन्छ नै । तर अधिकारी भने नेपाल बैंक निजी क्षेत्रका बैंकहरु जस्तै सबै पक्षमा अब्बल भइसकेको बताउँछन् । उनी भन्छन्, ‘हामी आधुनिक र जिम्मेवार ढंगले काम गरिरहेका छौं । अरु सरकारी संस्था वा निकायमा जस्तो नेपाल बैंकमा ढिला हुन्न । हाम्रा ग्राहकहरु सन्तुष्ट छन् । हामी आफैंले पनि समय समयमा अध्ययन गरिरहेका छौं ।’

निरन्तर र दिगो प्रगति
‘हामी निरन्तर ग्रोथ गरिरहन्छौं, तर एग्रेशिभ हुँदैनौं । भोल्युमलाई आधार बनाएर दौडने पक्षमा छैनौं । विगतभन्दा राम्रो गर्ने र दिगो ग्रोथका लागि प्रयत्नशील रहनेछौं’, अधिकारी भन्छन् ।

जनशक्ति
असार मसान्तसम्म बैंकमा दुई हजार ३१७ जना कर्मचारी थिए । यतिबेला त्यो संख्या दुई हजार २३५ जनामा झरेको छ । यही चैत मसान्तसम्ममा थप ७५ जनाले अवकास पाउँदैछन् । यतिबेला बैंकले केही नयाँ कर्मचारी नियुक्तिका लागि भर्ना प्रक्रियासमेत अघि बढाईसकेको छ ।

बैंकिङ नेटवर्क
अहिले देशका ६५ जिल्लामा बैंकका १७५ वटा शाखा कार्यालय सञ्चालनमा छन् । थप १२ वटा जिल्लाहरुमा व्यवसायिक संभाव्यताका आधारमा यसै वर्ष ३० वटा शाखा थप्ने योजना बनेको पनि अधिकारीले सुनाए ।  त्यसबाहेक २५ वटा एक्सटेन्सन काउन्टर र ११० वटा एटीएम काउन्टर पनि सञ्चालनमा छन् ।

कस्को बैंक ?
‘नेपाल बैंक भन्ने वित्तिकै यो बुढापाकाहरुको बैंक हो भन्ने जस्तो लाग्न पनि सक्छ । यो अब कुनै एउटा पुस्ताको मात्रै होइन । सबैको बैंक भइसकेको अधिकारी बताउँछन् । उनी भन्छन्, यो हजुर बुवा, बुवा, हामी र हाम्रो नयाँ पुस्ताको बैंक हो ।’

पूरानो पुस्ताको नेपाल बैंकप्रति छुट्टै विश्वास छ । नयाँ पुस्तालाई आकर्षित गर्न बैंकले प्रविधि र सेवा प्रवाहको शैलीमा विविधिकरण गरिरहेको पनि अधिकारीले बताए । नेपाल बैंक अहिले पूर्णतः नयाँ पुस्ताले सञ्चालन गरिरहेको पनि उनी बताउँछन् । अधिकारी भन्छन् ‘म आफैं पनि २०६१ सालमा नेपाल बैंकमा प्रवेश गरेको थिएँ । १६ वर्षको बैंकिङ करिअरमै म सीईओ बन्न सफल भएँ । हामीसँग ९५ प्रतिशत कर्मचारी युवा छन् । उहाँहरुसँग काम गर्ने जोश, शैली र करिअरप्रतिको सोँचले पनि सेवा चुस्त दुरुस्त बनाईरहेको छ ।’

ट्रेड युनियन
नेपाल बैंकमा यतिबेला चार वटा ट्रेड युनियन छन् । कानुनले नै ट्रेड युनियन खोल्न पाउने व्यवस्था गरेको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने की ? भन्ने सोँच पनि व्यवस्थापनले बनाएको छ । तर त्यसले चार वटा युनियनमा एउटा थपेर पाँच वटा संख्या मात्रै पुग्ने त होइन ? भन्ने संशयका कारण आधिकारिक युनियन बनाउनतर्फ तत्काल नसोचेको सीईओ अधिकारी बताउँछन् ।

स्थिर सम्पति
नेपाल बैंकसँग ९९ ठाउँमा आफ्नै सम्पति छ । त्योमध्ये केही ठाउँमा मात्रै शाखा कार्यालय बनाएर सञ्चालन गरिएको छ । अधिकांश त्यस्ता सम्पतिको उपयोग भइरहेको छैन् । बैंकले केही समय अघि थोरै सम्पति बेचेको थियो । अहिले भने त्यस्ता सम्पतिहरुको वैकल्पिक उपयोगको विधि खोजी भइरहेको छ । उनी भन्छन्, ‘लिजमा दिने वा बेच्ने ? बारे अध्ययन भइरहेको छ । खरिद नियमावली संशोधन गर्ने तयारी छ । सरकारी लगानी पनि भएकाले सार्वजनिक खरिद ऐन लागू हुन्छ । सोहीअनुसार नियमावली संशोधन गरेर सञ्चालक समितिमा लगेका छौं । सञ्चालक समितिले पास गरेपछि राष्ट्र बैंक पठाउँछौं, त्यहाँबाट स्वीकृत भएर आएपछि कार्यान्वयनमा लैजान्छौं ।’

ग्राहक आधार कति ?
नेपाल बैंकसँग हाल १७ लाख भन्दा बढी ग्राहक छन् । निक्षेप राख्ने ग्राहकको संख्या नै १५ लाख ५० हजारभन्दा बढी छ । बाँकी एक लाख ५० हजार कर्जाका ग्राहक छन् ।

डिबेञ्चरको कुरा
नेपाल बैंकले दुई अर्ब ५० करोड रुपियाँको डिबेञ्चर ल्याउने प्रक्रिया अघि बढाएको छ । यसै आर्थिक वर्षभित्र डिबेञ्चर ल्याईसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नीति छ । बैंकले नविल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक तोकिसकेका छ । धितोपत्र बोर्डबाट स्वीकृति लिएर चैतभित्र डिबेञ्चर ल्याईसक्ने तयारीमा नेपाल बैंक छ । बैंकको डिबेञ्चर ७ वर्ष अवधिको हुनेछ । १० प्रतिशत ब्याज तोकिएको डिबेञ्चरले अर्धबार्षिकरुपमा भुक्तानी गर्नेछ । डिबेञ्चरबाट संकलित दुई अर्ब ५० करोड रुपियाँलाई दिर्घकालिन प्रकृतिका परियोजनाहरुमा लगानी गर्ने योजना बनेको छ । त्यसमा पनि सरकारले उच्च प्राथमिकतमा राखेको पर्यटन, उर्जा र उद्योग क्षेत्रमा त्यसको लगानी गरिने छ ।

डिबेञ्चर नबिक्ला की ? भन्ने चिन्ता नरहेको अधिकारी बताउँछन् । यो डिबेञ्चर नेपाल सरकारले जारी गर्ने ट्रेजरी बण्ड जस्तै सुरक्षित हुने भएकाले लगानीकर्ताले सहजै पत्याउने उनको दावी छ ।

विगतलाई फर्केर हेर्दा
गत आर्थिक वर्षमा बाणिज्य बैंकहरुको निक्षेप संकलन दर औसतमा १६.१७ प्रतिशतले मात्रै बढेको थियो । त्यस्तो अवस्थामा नेपाल बैंकको निक्षेप १८ प्रतिशतले वृद्धि भएको थियो । बैंकिङ क्षेत्रको कर्जा वृद्धिदर १८ प्रतिशत हुँदा नेपाल बैंकले २२ प्रतिशतले कर्जा बढाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म आईपुग्दा बैंकको सीसीडी रेसियो कम्फटेवल अवस्थामा छ । बैंकिङ क्षेत्रको औसत सीसीडी ७६/७७ को हाराहारीमा रहँदा नेपाल बैंक भने ६८ प्रतिशत थियो । यद्यपी अहिले भने त्यो रेसियो ७२ प्रतिशत पुगेको अधिकारीले बताए । नेपाल बैंकले ७७ प्रतिशतभन्दा माथि सीसीडी रेसियो नलाने योजना बनाएको पनि उनले जानकारी गराए ।

भावी योजना
आन्तरिक सञ्चालन प्रणाली सुधारदेखि व्यवसाय विस्तारसम्मलाई जोड दिएको उनी बताउँछन् । अधिकारीले बैंकको ओएनएम सर्भे गर्ने तयारी सुरु गरेका छन् । त्यसबाट प्राप्त नतिजाका आधारमा संस्थागत सुधारको प्रयास हुनेछ । अहिलेकै अवस्थामा पनि आइटीमा सुधार, जनशक्तिबाट अधिकतम् उपयोग, कर्पोरेट गर्भनेन्समा सुधार गर्ने उनले बताए । त्यसबाहेक हरेक वर्ष २५ प्रतिशत निक्षेप र २० प्रतिशत कर्जाको दर बढाउने योजना पनि उनले सुनाए ।

लगानी योग्य पुँजीः अब के होला ?
देशमा स्थिरता आएसँगै नागरिकमा उत्साह थपियो । त्यही उत्साहका कारण कर्जाको माग निक्षेपको भन्दा बढी भयो । तर निक्षेपको आधार वृद्धि भएन । पुँजीगत खर्च कम भएकाले त्यसो भएको हो । त्यस्तो समस्या समाधानका लागि पुँजीगत खर्च बढाउनु नै उत्तम विकल्प भएको पनि अधिकारीको विश्लेषण छ । त्यसबाहेक नेपालका बैंकहरुले विदेशी बैंक तथा वित्तिय संस्थाबाट पैसा ल्याउन पाउने व्यवस्था कार्यान्वयनका लागि पनि थप प्रयास गर्नुपर्ने उनी बताउँछन् ।

र, यो पनि
नेपालको पहिलो बैंक हो नेपाल बैंक । यो नेपालको बैंकिङ क्षेत्रको इतिहास पनि हो । बैंक पहिलो हुने भन्दा पनि नैतिक हुनुपर्छ भन्ने मान्यता राख्छन् सीईओ अधिकारी । उनी भन्छन् ‘वित्तिय तथ्यांकमा पहिलो हुने भन्दा पनि नैतिक बैंकिङमा पहिलो हुनुपर्छ, अरुले पनि हामीबाट प्रेरणा लिन सकुन भन्ने हो, हामी निरन्तर काम गर्छौ, पोजिशनलाई मतलब गर्दैनौं, इथिक्स छोड्दैनौं ।’, उनले आफ्नो अडानलाई थप स्पष्ट पार्दै सुनाए-‘एग्रेशिभ ग्रोथ होइन, इथिकल बैंकिङ र स्थिर लाभांश ।’

Advertisement

Advertisement

Advertisement