केरुङ–काठमाडौं रेलः डीपीआर सम्झौता गर्न चिनियाँ टोली नेपालमा

Advertisement

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको डीपीआर(विस्तृत सम्भाव्यता अध्ययन–डिटेल फिजिबीलिटी रिपोर्ट) तयार पार्ने सम्झौता गर्न सोमबार उच्चस्तरिय चिनियाँ टोली काठमाडौं आईपुग्दैछ ।

चिनियाँ रेल वे प्रशासनका प्रमुख(सचिवस्तर)को प्राबिधिक टोलीले नेपाल सरकारसँग केरुङ–काठमाडौं रेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नेछ । नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले मंसिर ५ गते आफ्नो पहिलो निर्णयका रुपमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए ।

चिनियाँहरुको विस्तृत सम्भाव्यता अध्ययनलाई नै डीपीआर मान्ने गरिएको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । २३ सदस्यिय चिनियाँ टोलीले पाँच दिन नेपाल बस्नेछ ।

उनीहरुले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन समेत गर्नेछ । सो टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको समेत स्थलगत अध्ययन गर्नेछ । यो रेलमार्ग भने १७१ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म चिनको औपचारीक भ्रमण गर्दा रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङले असोज २५ गते गरेको नेपाल भ्रमणका क्रममा पनि रेलमार्ग निर्माणबारे सम्झौता भएको थियो । चिनियाँ राष्ट्रपति जिनपिङले नेपालमा रेल आउने स्पष्ट धारणा राखेका थिए ।

विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेपछि नै निर्माणको मोडालीटी र श्रोत व्यवस्थापनबारे छलफल अघि बढ्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

Advertisement

Advertisement

Advertisement