बैंकर अजय श्रेष्ठलाई १ करोड धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतले बैंक अफ काठमाण्डू(बीओके)का पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) अजय श्रेष्ठलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार बैंकर श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

२०७४ असार मसान्तसम्म बैंक अफ काठमाण्डूमा सीईओ रहेका श्रेष्ठलाई खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा असोज ५ गते पक्राउ गरेको थियो । उच्च अदालत पाटनले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पूर्व सीईओ श्रेष्ठ उच्च अदालत पाटनको आदेशको विरुद्धमा सर्वोच्च गएका थिए । सर्वोच्च अदालतले उनको मुद्दाको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

ऋणी सुरेन्द्र श्रेष्ठले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा बैंकमा राखेर सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । ऋणी श्रेष्ठले सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पूर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो ।

श्रेष्ठसँगै बैकिङ कसुर मुद्दामा थुनामा रहेका अर्का बैंकर किरणकुमार बोहोरालाई पनि आजै १ करोड धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement