शेयर बजार केही महिनामै प्रतिफल दिने नगदे बाली होइनः साउद

Advertisement

बुटवल । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले अहिले लगानीकर्ताहरुको लािग लगानी गर्ने सुवर्ण अवसर भएको बताएका छन् ।

बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिन आयोजित कार्यक्रममा उनले भने– नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य राम्रो छ ।’ शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली होइन, उनले अगाडि भने–‘अहिले नयाँ लगानीकर्ताका लागि क्षमताअनुसार लगानी गर्ने सुवर्ण अवसर हो ।’

उक्त कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुने बताए ।

त्यसैगरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको उनको भनाइ थियो । उनले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राखे । शेयर बजारका लगानीकर्ताले कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न उनले आग्रह गरे । लगानीकर्ता हेमलाल भट्टराईले नेप्सेको नेतृत्वको कमजोरीले पूँजी बजार घट्दै गएको आरोप लगाए ।

बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिन आइतबार आयोजना गरेको हो । नेप्सेले त्यहाँका लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ ।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement