भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न निर्देशन

Advertisement

काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीबाट असुल गरिएको अतिरिक्त शुल्क भोलि मंगलबारसम्म फिर्ता नगर्ने कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नी खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको बैठकले शुल्क फिता नगर्नेहरुलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको हो ।

पटक पटक सचेत गराउँदा पनि अटेर गरेका मेडिकल कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न सरकारले सुरुमा १५ दिन र त्यसपछि एक महिनाको अल्टिमेटम दिएको थियो । दोस्रो पटक दिएको अल्टिमेटमको म्याद सोमबार सकिएकै दिन गृह मन्त्रालयमा बैठक गरी मंगलबारसम्म शुल्क फिर्ता वा समायोजन नगर्ने कलेजका सञ्चालकहरुलाई पक्राउ गर्न निर्देशन दिइएको हो । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै देशैभरका चिकित्सा शिक्षाका विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उत्रिएको भन्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको प्रशासनले आफ्नै विद्यार्थीलाई कुटपिटसमेत गराएको छ भने भरतपुरस्थित चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीलाई निरुत्साहित गर्न कलेजमै लोड गरिएको पेस्तोल राखिएको थियो ।

पटक पटकको आग्रह र अल्टिमेटम नटर्ने र उल्टै मन्त्रीलाई धम्क्याउने काम मेडिकल कलेज सञ्चालकहरुबाट भएपछि सरकार उनीहरुविरुद्ध कडारुपमा प्रस्तुत भएको हो । गत वर्षको मन्त्रिपरिषद् बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement