राज्यमन्त्री दुगडमाथि लागेको आरोप ठूलो होइन्ः मन्त्री भट्ट

Advertisement

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्याउने दावी गरेका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनमा नेपालमा तेल ल्याउने पनि दाबी गरे । भट्टले भने, ‘जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् । मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’

मुलुक औद्योगिकीकरणको बाटोमा गइसकेको उनको दावी छ । भट्टले भने, ‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यहीअनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’

मन्त्री भट्टले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । उनले भने, ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं ।’

त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगिकीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको भट्टले सुनाए । उनले भने, ‘औद्योगिकीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भइरहेको छ । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’

पछिल्लो समय मुलुकको व्यापार घाटा कम भइरहेको सुनाउँदै भट्टले यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको बताए । उनले भने, ‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाह्य मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’

मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुने पनि बताए । उनले भने, ‘औद्योगिक वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाह्य पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाह्य पुँजी पनि देशमा आकर्षण भैरहेको छ ।’

भट्टले स्थानीय तहमा छरिएर रहेका ग्रामोद्योगलाई अब एकै ठाउँमा ल्याएर व्यवस्थित् गर्ने आफ्नो योजना रहेको पनि सुनाए । त्यस्तै, उनले केही नयाँ औद्योगिक क्षेत्र पनि घोषणा भएको र केही घोषणा हुने क्रममा रहेको सुनाए ।

भट्टले भने, ‘केही क्षेत्रहरु घोषणा भैसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डीपीआर र आईईए भैरहेको छ ।’ उनले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने काम पनि भएको सुनाए । उनले भने, ‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं । हिजो मात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’

भट्टले राज्यमन्त्री मोतिलाल दुगडको बारेमा आएका कुरा आफूलाई त्यति ठूलो नलागेको पनि प्रतिक्रिया थिए । उनले भने, ‘उहाँसँग मैले दुई तीन पटक छलफल गरेको छु । हामी सहकार्य गरेर जान्छौं । उहाँको बारेमा आएका कुरा धेरै ठूलो हो भन्ने मलाई लाग्दैन् । अब मैले नबुझेको कुरामा टिप्पणी गर्नु पनि राम्रो हुँदैन् ।’ दुगड भारतीय नागरिक रहेको भन्दै केही तथ्यसहितको समाचार बाहिर आएको थियो ।

आफू धेरै कुरा गर्नेभन्दा पनि काम गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने भट्टको भनाई छ । उनले भने, ‘अरुलेजस्तै म ठूलो कुरा गर्ने मान्छे होईन् । म त काम गर्ने मान्छे हुँ । भट्टले निजी क्षेत्रका उद्योगहरु नाफामा गएका तर सरकारी उद्योगहरु घाटामा जानुको कारणबारे पनि आफूहरुले अध्ययन गरिरहेको बताए ।

मन्त्री भट्टले भने, ‘निजी क्षेत्रको व्यवस्थापन चुस्तदुरुस्त छ । सरकारी उद्योगहरु हाम्रो हो भन्ने भावना नै भएन् । व्यवस्थापनमा बसेकाहरुको व्यक्तिगत स्वार्थ लुकेको देखियो । अब त्यस्तो हुँदैन् । व्यवस्थापनमा बसेकाहरुले सरकारी उद्योग पनि हाम्रो हो भन्ने भावनासहित अघि बढ्नुपर्छ । यसको लागि योग्य व्यवस्थापक दिनुपर्छ । काम गर्ने कार्यशैली र सोचन बदल्नुपर्छ । सरकारले त्यसतर्फ पर्याप्त ध्यान पुर्याउँछ ।’

भट्टले नेपाललाई कृषिलगायत अत्यावश्यक वस्तुमा आत्मनिर्भर बनाउनको लागि पर्याप्त पहल भइरहेको पनि दावी गरे । उनले भने, ‘कृषि मन्त्रालयले कृषि उत्पादनमा आत्मनिर्भर बन्नको लागि आफ्नो रणनीति र योजनाहरु सार्वजनिक गरिसकेको छ । अहिले हामीले चामल धेरै आयात गरेका छौं । चामलमा आत्मनिर्भर हुनको लागि धान जोन अघि सारिएको छ । यो कुरा प्रदेशका कृषि मन्त्रालयहरुले पनि प्रभावकारी रुपमा कार्यान्वयनमा लागेका छन् । धानजस्तै मकै, आलु, प्याजलगायतमा पनि आत्मनिर्भर हुने योजना छ । अब हामी यी वस्तु निर्यात गर्ने अवस्थामा पुग्नुपर्छ भन्ने पक्षमा छौं । सोहीअनुसार काम गर्नेछौं ।’

उनले तरकारीमा धेरैजसो आत्मनिर्भर भइसकेको पनि दाबी गरे । भट्टले भने, ‘अहिले डढेलधुराबाट भारतको नयाँ दिल्ली तरकारी निर्यात हुन्छ । सल्यानबाट काठमाडौं र भारतसम्म तरकारी निर्यात भइरहेको छ ।’ नेपालमा केही पनि हुँदैन् भन्ने मनोविज्ञान अब बदल्न जरुरी रहेको उनको टिप्पणी छ । भट्टले भने, ‘त्यो चिन्तन बदल्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेगरि काम गर्नुपर्छ । सबैले आ–आफ्नो ठाउँबाट योगदान पुरयाउनुपर्छ ।’

यद्यपी कतिपयले विदेशमा सिकेका सीप र अनुभवलाई स्वदेशमा लगाई देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको पनि भट्टले सुनाए । उनले आफूले घरमा भैंसी पालेको सुनाए । उनले भने, ‘मेरो घरमा मैले भैंसी पालेको छु । घरमा दुध किन्नुपर्दैन् । सबैले गाई, भैंसी पाल्नुपर्छ । यसो गर्न सकियो भने दुधमा हामी आत्मनिर्भर हुनेछौं ।’

उनकाअनुसार नेपाल अहिले पनि सिमेन्ट, विजुली, माछा, मासु र छडमा आत्मनिर्भर भइसकेको छ । नेपालमै फलामी खानी रहेको कुरामा अनुसन्धान भइरहेको र यसको गुणस्तर परीक्षणको लागि चीन पठाईएको पनि भट्टले सुनाए । उनले भने, ‘हामी फलामी खानीको उत्खननको लागि संयन्त्र बनाउनेतर्फ छलफल गरिरहेका छौं ।’

केही वस्तुमा आत्मनिर्भर हुनासाथ मुलुकको अर्थतन्त्रमा ठूलो र सकारात्मक योगदान पुग्ने उनको भनाई छ । भट्टले भने, ‘म त निमित्त मात्रै हुँ, सबैले सकारात्मक भएर आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’ उनले बजार अनुगमनको लागि पनि आफूले कडा कदम चाल्ने विश्वास दिलाए ।

मन्त्री भट्टले भने, ‘बजार अनुगमन गर्ने हो । तर, अनुशासन स्थापित गर्ने कुरामा सबैले ईमानदारीपूर्वक लाग्नुपर्छ । स्व–अनुशासनको पनि कुरा हुन्छ । राज्यले सधैं अनुगमन गरेरमात्रै पुग्दैन् । हामी व्यवसायीहरुलाई जनता र देशप्रति उत्तरदायी बनाउने दिशामा लाग्नेछौं ।’

आफूले समस्या समाधानको लागि कडा कानून ल्याउने तयारी गर्न लागेको पनि भट्टले सुनाए । अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने ? भन्नेबारे आफू अहिले छलफलमा केन्द्रित रहेको पनि भट्टले बताए । उनले भने, ‘बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्ने काममा हामी सफल हुनेछौं । तर, कमिकमजोरी सच्याउनको लागि हामी आग्रह गर्दछौं ।’ उनले आफ्नो कार्यकालमा उद्योगको क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा बढि र ठूलो योगदान पुर्याउने पनि दाबी गरे ।

Advertisement

Advertisement

Advertisement