‘टुटल’, ‘पठाओ’ र ‘सरर’लाई सरकारले प्रतिबन्ध लगाउँदा ट्याक्सी चालकहरु खुशी

Advertisement

काठमाडौं । पछिल्लो समयमा निकै लोकप्रिय बनेका ‘टुटल’, ‘पठाओ’ र ‘सरर’लाई सरकारले प्रतिवन्ध लगाएपछि ट्याक्सी चालकहरु खुशी भएका छन् । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सी जस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको तर्क गरे ।

उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरी सरकारले अवैध सवारी साधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको बताए । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारी साधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताए । उनले भने, ‘सरकारको यो कदम देखावटी नभईकन दिर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो ? र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै श्रेष्ठले प्रश्न गरे । उनले भने, ‘हामीलाई पनि सरकारले नेपाल भ्रमण वर्ष सफल तुल्याउने महाअभियानमा भूमिका दिनुपर्छ । साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ श्रेष्ठले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने पनि चेतावनी दिए ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने बताए । उनले भने, ‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरु पनि यात्रु ओसारपसारमा लागिरहेका छन् । यो कार्यलाई सरकारले तत्काल बन्द गर्नुपर्छ । हामीले धेरै लामो समयदेखि यसबारेमा ध्यानाकर्षण गराउँदै आएका छौं । हामीसँग सरोकार राख्ने हरेक निकायमा ज्ञापनपत्र बुझाएका छौं ।’

सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ । तर, आफूहरु प्रविधिको विरोधी नभएको तामाङको स्पष्टोक्ति थियो । उनले भने, ‘टुटल, पठाओ र सररजस्ताको अवैध धन्दा बन्द हुनुपर्छ । उनीहरु विधिमा आउनुपर्छ ।’ तामाङले प्रधानमन्त्री केपी ओलीले टुटल, पठाओ, सरसरलाई केही अवैद्य सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि चल्न दिने भनेर मौखिक निर्देशन दिएकोमा भने आपत्ति जनाए ।

उनले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति र कदम आपत्तिजनक छ । यसले कानूनी राज्यको उपहास भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यहीँबाट प्रश्न गर्न चाहन्छु–तपाई कानूनअन्तर्गत प्रधानमन्त्री हुनुभएको हो, तर तपाईले अहिले त्यही कानूनलाई कुल्चिनुभयो । मुलुकको कार्यकारी प्रमुखबाटै सुझबुझबिना यस्तो गलत र गैरकानूनी निर्देशन दिनु लज्जास्पद छ ।’

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला इन्चार्ज सूर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

तामाङले भने, ‘सरकारको पछिल्लो निर्णयविरुद्ध भोलि टुटल, पठाओ र सररले विरोध तथा शक्ति प्रदर्शन गर्ने भन्ने सूचना आएको छ, यदि राज्यले उनीहरुलाई नियन्त्रण नगरे हामी पनि उनीहरुको विरुद्धमा शक्ति प्रदर्शन गर्न तयार छौं । राज्यले यसप्रति बेलैमा सचेतता अपनाओस् ।’

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष सानु पूर्वछानेले टुटल, पठाओ र सररले भोलि गर्ने विरोध प्रदर्शनको विरुद्धमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । उनले टुटल, पठाओ, सरर र निजी सवारीसाधनले कर नतिरी आयआर्जन गरेको बताए ।

पूर्वछानेले भने, ‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं । राज्यले हामीलाई चाहीँ २७ थरीको दोहोरो कर लगाएको छ । वि.स. २०६९ देखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन् । हामी ठूलो पीडामा छौं । तर, टुटल, पठाओ र सररलाई आफूखुशी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’

Advertisement

Advertisement

Advertisement