प्रधानमन्त्रीलाई ‘भेन्टिलेटर’मा राखेर उपचार, प्रचण्डले भेटेर फर्किए

Advertisement

काठमाडौं । अकस्मात एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेसँगै स्वास्थ्य अवस्था थप जटिल हुन नदिन प्रधानमन्त्री केपी ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास)मा राखेर उपचार सुरु गरिएको छ । मृगौलाको समस्याबाट लामो समयदेखि पीडित उनको मंगलबार अकस्मात एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना भएका ओलीको एपेन्डिसाइटिस फुटेकाले संक्रमण हुनसक्ने आशंकामा उनलाई भेन्टिलेटरमा राखिएको चिकित्सकहरुले बताएका छन् । पेटमा पीडा महशुस भएपछि उनी मंगलबार बिहान अस्पताल भर्ना भएका हुन् । ओलीको उपचारमा डा. अरुण सायमी नेतृत्वको टोली लागेको छ ।

आईसीयूमा भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए । त्यस क्रममा चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको र स्वास्थ्यमा सुधार हुँदै गएको बताएपछि प्रचण्ड फर्किएका थिए ।

Advertisement

Advertisement

Advertisement