पोखरामा पानीको मूल्य घटाउने तयारी

Advertisement

पोखरा । कास्की र आसपासका क्षेत्रहरुमा खानेपानीको मूल्य घटाउने तयारी गरिएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकीले मंसिर २० देखि लागू हुनेगरी मूल्य घटाउन सहमत भएको हो ।

बजार अनुगमनका क्रममा पानीको मूल्य उच्च रहेको पाइएपछि सरकारी अनुगमन टोलीले मूल्य घटाउन संघलाई दबाब दिएको थियो । मूल्य नघटाए कारवाहीसमेत गर्ने चेतावनी दिएपछि व्यवसायीहरुले पत्रकार सम्मेलन गरेर आफूहरु मूल्य घटाउन तयार भएको बताएका हुन् ।

पिउने पानीको प्रतिबोतल अधिकतम् खुद्रा मूल्य (एमआरपी) २५ रुपियाँबाट घटाएर १६ रुपियाँ कायम गरिएको छ भने जारको ६० रुपियाँबाट घटाएर ५० रुपियाँ कायम गरिएको छ । उपभोक्ता हितसम्वन्धी कानुनअनुसार २० प्रतिशतभन्दा बढि नाफा लिन नपाइने भए पनि यसअघि ५० प्रतिशतदेखि सतप्रतिशतसम्म नाफा लिएको देखिएपछि मूल्य घटाउन निर्देशन दिइएको हो ।

नेपाल बोटल वाटर उद्योग संघ प्रथम उपाध्यक्ष लेखबहादुर प्रधानले केही व्यवसायीको असहमतिका बीच आफूहरुले सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरेको बताएका छन् । उपभोक्ता हितका लागि आफूहरु मूल्य समायोजन गर्न तयार भएको भन्दै तर भ्याटमा छुट हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरे ।

उपभोक्ता संरक्षण मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले हरेक वस्तुमा मुल्य बृद्धि भइरहेका बेला पानीमा मूल्य घट्नु खुसीको खबर भएको बताए ।

Advertisement

Advertisement

Advertisement