काठमाडौंमा रेल र पानी जहाज एकै पटक !

Advertisement

काठमाडौं । यतिबेला काठमाडौंमा गज्जबको संयोग जुरेको छ । रेलमार्ग र पानी जहाज सम्बन्धी छलफल समानान्तर रुपमा चलिरहेको छ । केरुङ–काठमाडौं रेलमार्ग सम्बन्धी छलफल गर्न चिनियाँ टोली र जलमार्ग(पानी जहाज) सञ्चालन सम्बन्धी छलफल गर्न भारतीय टोली यहिँ छ ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ रेल वे प्रशासनका प्रमुख(सचिव स्तर)को प्रतिनिधिमण्डल नेपालमा छ । नेपाल र चीनबीच यो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन(डिपिआर सरह)को अध्ययन गर्ने सम्बन्धी सम्झौता हुँदैछ । सो टोलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माण हुने क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछ । साथै काठमाडौं–पोखरा–लुम्बिनी खण्डको समेत स्थलगत अवलोकन गर्नेछ ।

उता, समुद्रमा नेपाललाई आफ्नै पानी जहाज चलाउन बाटो खोलिदिने गरि समझदारीमा हस्ताक्षर गर्न भारतीय टोली पनि नेपालमै छ । भारतको बाणिज्य विभागका एडिसनल सेक्रेटरी भुपिन्दर सिंह भल्ला नेतृत्वको टोलीले बुधबार नेपाललाई समुद्रमा पानी जहाज सञ्चालन गर्न दिने गरि समझदारी पत्रमा हस्ताक्षर गर्दैछ । नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सह सचिव नवराज ढकालले त्यसमा हस्ताक्षर गर्नेछन् ।

ढकालका अनुसार समझदारीपछि नेपाली पानी जहाजहरुका लागि ३ वटा रुट प्राप्त हुनेछन् । नेपाली पानी जहाजहरुले कलकत्ता–कालुघाट, कलकत्ता–साहिबगञ्ज र कलकत्ता–बनारसम्म सञ्चालनको अनुमति पाउनेछन् ।

‘यो समझदारीपछि ३ वटा ठाउँमा समान बोकेर नेपाली पानी जहाज आउन सक्छन् । भारतीय जलमार्गमा नेपालको पहुँच स्थापित हुनेछ ।’, ढकालले भने ।

नव नियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले मंसिर ५ गते आफ्नो पहिलो निर्णयका रुपमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए ।

[caption id="attachment_152540" align="aligncenter" width="900"] केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन(डीपीआर) बनाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरको क्षण[/caption]

चिनियाँहरुको विस्तृत सम्भाव्यता अध्ययनलाई नै डीपीआर मान्ने गरिएको छ । केरुङ–काठमाडौँ रेलमार्गको दूरी करीब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि नौ वर्षको हुने र करीब तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । २३ सदस्यिय चिनियाँ टोलीले पाँच दिन नेपाल बस्नेछ । उनीहरुले केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन समेत गर्नेछ । सो टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको समेत स्थलगत अध्ययन गर्नेछ । यो रेलमार्ग भने १७१ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ५ देखि १० गतेसम्म चिनको औपचारीक भ्रमण गर्दा रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङले असोज २५ गते गरेको नेपाल भ्रमणका क्रममा पनि रेलमार्ग निर्माणबारे सम्झौता भएको थियो । चिनियाँ राष्ट्रपति जिनपिङले नेपालमा रेल आउने स्पष्ट धारणा राखेका थिए ।

विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेपछि नै निर्माणको मोडालीटी र श्रोत व्यवस्थापनबारे छलफल अघि बढ्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।

[caption id="attachment_152421" align="aligncenter" width="900"] पारवाहन सन्धि पुनरावलोकन समितिको बैठकमा नेपाल र भारतका प्रतिनिधि, बैठकपछि समुद्रमा नेपाललाई पानी जहाज चलाउन पाउने व्यवस्थासहितको समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।[/caption]

Advertisement

Advertisement

Advertisement