चार दशकमा जम्मा पाँच खर्व विदेशी लगानी स्वीकृत

Advertisement

काठमाडौं । सरकारले विदेशी लगानी भित्राउन उच्च प्राथमिकता दिएको बताउँदै आए पनि नेपालमा आजसम्ममा पौने पाँच खर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको पाइएको छ। नेपालमा वैदेशिक लगानी आउन थालेको चार दशक भएको छ।

उद्योग विभागका अनुसार अहिलेसम्म चार खर्ब ७० अर्ब ७७ करोड रुपियाँ विदेशी लगानी स्वीकृत गरिएको छ । २०३८ सालमा विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन २०३८ ल्याएर कानुनी रुपमा एफडिआई ल्याउन सुरु गरिएको थियो। यही करिब चार दशकको अवधिमा पौने पाँच खर्ब रुपियाँ लगानी स्वीकृत भएको हो।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार गत असारसम्म चार हजार आठ सय २७ उद्योगका लागि तीन खर्ब ८८ अर्ब २० करोड रुपियाँ विदेशी लगानी स्वीकृति गरिएको छ। विभागले चालु आर्थिक वर्षको चार महिनामा एक सय चार उद्योगका लागि ८२ अर्ब ५७ करोड रुपियाँ लगानी स्वीकृत गरेको छ। २०३८ देखि ७६ सम्ममा पौने पाँच खर्ब रुपियाँ विदेशी लगानी स्वीकृत भएको देखिन्छ । साना, मझौला, ठूला र लगानी बोर्डले स्वीकृत गरेका उद्योगको समेत समावेश गरिएको सिटौलाले बताए।

विगतको तुलनामा चालु आर्थिक वर्ष ०७६।७७ को पहिलो चार महिनामा विदेशी लगानीको प्रतिबद्धता बढेको छ। यो वर्ष लगानी बोर्डसमेतबाट एक सय चार परियोजनाका लागि ८२ अर्ब ५७ करोड रुपियाँको स्वीकृति जारी भएको छ। गत वर्षको सोही अवधिमा ४७ अर्ब १७ करोड रुपियाँ लगानी प्रतिबद्धता थियो। यो गत वर्ष भन्दा ३५ अर्ब ४० करोड रुपियाँले बढी हो।
नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement