दुई महिनामात्र सामाजिक सुरक्षा कोषमा योगदान गरेका दुई परिवार लाभान्वित

Advertisement

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरेर ज्यान गुमाएका दुई योगदानकर्ताका आश्रित परिवारले आर्थिक सहायता प्राप्त गरेका छन् । योजनामा सहभागी भई योगदान गरेका मकवानपुरका रुपेन्द्र थापा र काभ्रेपलाञ्चोकका प्रकाश मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेको हुन् ।

सामाजिक सुरक्षा दिवस, २०७६ का अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुवै व्यक्तिका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत पाउने रकमको चेक हस्तान्तरण गरे । थापाका श्रीमती सुस्मिता क्षेत्री र अविवाहित मोक्तानका बाबुआमा दिवासनसिंह र धनमायालाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

क्लोज सिष्टम इन्टरनेशनल नेपाल प्रालिमा कार्यरत इञ्जिनीयर थापा र कैरोश क्याफे प्रालीमा कार्यरत तामाङको सडक दुर्घटनामा परी ज्यान गएको थियो । उनीहरुले जम्मा दुई महिनामात्र कोषमा योगदान गरेका थिए ।

कोषले सुस्मितालाई आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत अन्तिम संस्कार खर्चबापत एकमुष्ट रु २५ हजार र मासिक निवृत्तिभरण (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) वापत रु १७ हजार प्रदान गरेको छ । मासिक निवृत्तिभरण जीवित रहुञ्जेल प्रदान गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।

यस्तै मोक्तानका बाबुआमाले सोही योजनाअन्तर्गत अन्तिम संस्कारवापत एकमुष्ट रु २५ हजार र मासिक निवृत्तिभरण (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) वापत रु १० हजार २०० प्राप्त गर्नुभएको छ । मासिक निवृत्तिभरण आजीवन प्राप्त गर्नेछन् ।

कोषले तत्कालका लागि चार प्रकारका सुरक्षा योजना लागू गरेको छ । कोषमा योगदान गर्नेले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकाश सुविधा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement