टेलिकम र प्रहरीबीच सम्झौता, फुटबल क्षेत्रको विकासका लागि ३२ लाख बराबरको सामाग्री सहयोग गर्ने

Advertisement

काठमाडौँ । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतासँगै टेलिकमको प्रतीक चिह्न अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता एक वर्षका लागि गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने बताए । “उच्च नैतिकता, अनुशासन, मर्यादा र खेलप्रतिको समर्पणमा लागेमात्र सम्झौताको सार्थकता हुन्छ,” उनले भने । राष्ट्रियतालाई चिनाउन फुटबल खेलले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

महानिरीक्षक खनालले आउँदै गरेको साग प्रतियोगितामा फुटबलमा पहिलो स्थान हासिल गरेर आफ्नो कौशल देखाउन पुलिसका खेलाडीलाई आग्रहसमेत गरे । सागको सुरक्षामा नेपाल प्रहरी कटिबद्ध रहेको उनको भनाइ छ ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले नेपाल प्रहरीका खेलाडीहरुलाई खेलप्रति थप जिम्मेवार बन्न र दूरसञ्चार कम्पनीको सेवालाई थप विकास गर्न सम्झौताले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“कल बाइपासदेखि टेलिकमका तार चोरीलाई नियन्त्रण गर्न प्रहरीले टेलिकमलाई सहयोग गरेको छ,” उनले भने । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यावसायिकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रहरी र नेपाल टेलिकमबीच विसं २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ । शुरुका दिनमा पुरुष फुटबल खेलाडीका लागि मात्र प्रायोजन गर्दै आएको टेलिकमले विसं २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ ।

शुरुका दिनमा वार्षिक रु १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक रु ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

Advertisement

Advertisement

Advertisement