एनएमबी बैंक र युवा परिषदबीच सम्झौता, सीपमूलक तालीम केन्द्र सञ्चालन गरिने

Advertisement

काठमाडौँ । राष्ट्रिय युवा परिषद् र एनएमबी बैंकबीच युवालाई सीपमूलक तालीम केन्द्र सञ्चालन गर्नका लागि सम्झौता गरिएको छ ।परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीबीच बुधबार सातवटै प्रदेश र काठमाडौँमा स्वरोजगार बन्नका लागि परामर्श, उद्यमशीलता र वित्तीय साक्षर बन्नका लागि तालीम केन्द्र स्थापना गर्नेमा सम्झौता समेत भएको हो ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले तालीम केन्द्रबाट युवाले आफूलाई स्वरोजगार बनाउन सक्ने बताए । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले युवालाई सीप सिकाएर उद्यमी बनाउँदै उनीहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नसमेत सहयोग गर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा स्वरोजगार बन्ने युवालाई तालीम दिई उद्यमशील बनाइने बताए ।

युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि सरकारले २०७५ कात्तिक २० गतेदेखि व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीबाट तालीम लिनका लागि कर्जा गरी नौ प्रकारका कर्जा प्रवाह गरेको छ । अहिलेसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement