सागको तयारी पूरा भइसक्योः खेलकुदमन्त्री, ‘नेपालले धेरै पदक जित्ने संकेत देखिसकियो’

Advertisement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मंसिर १५ गतेबाट सुरु हुने १३औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा विश्वकर्माले १३औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भइसकेको जनाएका हुन् । उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको उद्घाटन गर्नुहुनेछ ।’ विश्वकर्माले अहिले देश तथा विदेशबाट सागमा भाग लिन आउने विशिष्ट पाहुना तथा अतिथिहरुलाई स्वागत गर्न आफूहरु व्यग्र प्रतिक्षामा रहेको बताए ।

१३औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाई छ । साग खेलका केही खेलहरु हिजोबाटै सुरु भइसकेको पनि विश्वकर्माले जनाए । उनकाअनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भइसकेका छन् । ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । यो हाम्रो लागि थप शुभसंकेत हो’–उनले भने ।

यो पटकको सागमा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको सुनाउँदै विश्वकर्माले सागमा नतिजा राम्रै आउने विश्वास दिलाए । उनले भने, ‘सुरुवाती खेलको विजय सुरुवातबाटै नेपालले धेरै पदक जित्ने संकेत मिलेको छ ।’ विश्वकर्माले सागको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनेगरि सिङ्गार्ने काम पनि भइरहेको जानकारी दिए ।

मन्त्री विश्वकर्माले उद्घाटन समारोहमा देशका ख्याति प्राप्त कलाकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विद्यार्थीहरुको विशेष सांस्कृतिक प्रस्तुति हुने स्पष्ट पारे । उनले भने, ‘सबै हिसाबले तयारी पूरा भैसकेको छ ।’

सागको समापन मंसिर २४ गते हुनेछ । सोही दिन विदेशी पाहुनाहरुलाई विदाई गरिने कार्यक्रम रहेको उनको भनाई छ । सागलाई नेपाल भ्रमण वर्ष–२०२० प्रर्वद्धन गर्ने रणनीतिक तयारीको रुपमा पनि लिईएको विश्वकर्माले बताए । उनले भने, ‘हामीले सागलाई पर्यटन वर्षको प्रर्वद्धनको रुपमा पनि जोडेर हेरेका छौं ।’

दक्षिण एशियाली राष्ट्र र अन्य देशबाट आउने विदेशी पाहुना, खेलाडी, रेफ्रीहरुलाई नेपालको मौलिक कला, संस्कृतिसँग साक्षात्कार गराईने तयारी रहेको पनि उनले जनाए । उनले भने, ‘सागमा आउने पाहुना, खेलाडीहरुलाई नेपालका प्राकृतिक सुन्दरतासँग भौतिक रुपमा साक्षात्कार गराउने तयारी छ ।’

साग प्रतियोगिता आयोजना हुने मुख्य शहरहरु काठमाडौं, पोखरा र जनकपुर आफैंमा ऐतिहासिक महत्व बोकेका ठाउँ भएको सुनाउँदै उनले पर्यटन प्रर्वद्धनमा सागले विशेष भूमिका खेल्ने बताए ।

सागलाई व्यवस्थित् गर्नको लागि स्वयमसेवक पनि ठूलो मात्रामा परिचालन गरिएको र सुरक्षाको राम्रो प्रवन्ध गरिएको पनि विश्वकर्माले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement