२१ हजार २ सय युवालाई सहुलियत कर्जा यसै वर्ष, नपाए भन्नुस अर्थमन्त्रीलाई

Advertisement

काठमाडौं । २१ हजार २ सय जना युवाहरुले यसै वर्ष सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असार मसान्त अघि नै बैंक तथा वित्तिय संस्थाहरुले दिनुपर्ने सहुलियतपूर्ण कर्जाको संख्या तोकिदिएको हो ।

जस अनुसार बाणिज्य बैंकहरुले ५ न्युनतम ५ सय जना, विकास बैंकहरुले न्युनतम २ सय जना र फाइनान्स कम्पनीहरुले न्युनतम एक सय जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने बाध्यकारी व्यवस्था ल्याएको हो ।  जस अनुसार कुल २१ हजारर २ सय जना युवाहरुले अबको ७ महिनाभित्रमै सहुलियत कर्जा प्राप्त गर्नेछन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार २८ वटा बाणिज्य बैंकहरुले १४ हजार जनालाई सहुलियत कर्जा दिनुपर्छ भने २५ वटा विकास बैंकहरुले ५ हजार जनालाई त्यस्तो कर्जा दिनुपर्छ । र २२ वटाको संख्यामा रहेका फाइनान्स कम्पनीहरुले २ हजार २ सय जनालाई सहुलियत कर्जा दिनै पर्नेछ ।

कृषि बाहेकका अन्य ८ वटा कर्जाको संख्या सो आकारमा पुर्याउनुपर्ने व्यवस्था अघि सारिएको हो । बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो आधार ब्याजदरमा २ प्रतिशतसम्म ब्याज थपेर त्यस्तो कर्जा दिन सक्ने व्यवस्था छ । जसमा सरकारले ५ प्रतिशतको ब्याज अनुदान उपलब्ध गराउँछ ।

सरकारले सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यबिधी संसोधन गरेर त्यस्तो कर्जाको  संख्यालाई ७ प्रकारबाट बढाएर ९ प्रकार बनाएको छ । जसमा कपडा उद्योग खोल्न र तालिम लिन पनि त्यस्तो कर्जा सुबिधा पाइन्छ । अब प्राविधिक शिक्षा हासिल गर्न(तालिम लिन)का लागि २ लाखसम्म व्यक्तिगत जमानीमा र कपडा उद्योगका लागि ५ करोडसम्म कर्जा पाइनेछ ।

यसअघिसम्म जम्मा ७ वटा शीर्षकअन्तर्गत ५ करोडसम्मको कर्जामा सरकारले ब्याज अनुदान दिँदै आएको थियो । जसमा भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवालाई अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा पाउने व्यवस्था थियो ।

४ बैंकको सामुहिक प्रतिवद्धता
बुधबार मात्रै अर्थमन्त्री डा. युवराज खतिवडालाई साक्षी राखेर ४ वटा बाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्ने भन्दै हस्ताक्षर गरेका थिए । चारवटै बैंकका सिइओहरुले सबै भन्दा धेरै सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
नदिए मलाई खबर गर्नुः अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले सहुलियत कर्जा कार्यान्वयन सम्बन्धि अभियानमा आफु साक्षी बसेकाले कार्यान्वयनमा आनाकानी नगर्न चेतावनी दिएका थिए । उनले कुनै पनि बैंक तथा वित्तिय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाहमा अटेर गरेमा आफुलाई इमेल गरेर जानकारी गराउन सर्वसाधारणलाई आग्रह समेत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement