लगानीकर्ताहरुको निश्कर्षः ‘अर्थमन्त्री डा. युवराज खतिवडा शेयरबजारको बाधक’

अर्थमन्त्री युवराज खतिवडा

बुटवल । लगानीकर्ताहरुले आत्मविश्वासको कमीले शेयर बजार बढ्न नसकेको बताएका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा लगानीकर्ताहरुले यस्तो निश्कर्ष निकालेका हुन् । उनीहरुले अर्थमन्त्री डा युवराज खतिवडा शेयरबजारको बाधक भएको आरोप पनि लगाए ।

लामो समय शेयरबजारमा लगानी गरेका लगानीकर्ताले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको बताएका हुन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरे ।

लगानीकर्ताले भनेका छन्, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।” शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताए ।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताए ।