एक करोड ८४ लाख राजश्व छल्ने ३ जना सुर्ति व्यापारी बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

Advertisement

काठमाडौँ । सुर्तिजन्य पदार्थको कारोबारमा अन्तःशुल्क, मूल्य अभिबृद्धि कर(भ्याट) तथा आयकर छलि गर्ने ३ वटा फर्मका ३ जना बिरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । १ करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ बिगो र बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी सहित राजश्व अनुसन्धान विभागले आइतबार मुद्दा दायर गरेको हो ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ चन्द्रौटा स्थित लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगका प्रोप्राइटर अब्दुल्ला मुसलमानले राजश्व चुहावट गरेको कसुरमा ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ र उक्त उद्योगको थोक बिक्रेता एनएस ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दुजमान थापाले ५४ लाख ५ हजार ७ सय पाँच रुपैयाँ राजश्व चुहावट गरेको कसुरमा बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

यसैगरी, कपिलवस्तु मायाँदेवी गाउँ पालिका ८ बस्ने अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोप्राइटर ३७ वर्षीय सकिल अहमद फकिरले १२६७.२ केजी अर्ध तयारी सुर्तिजन्य वस्तु भन्सार चोरी पैठारी गरी गरेको विभागले जनाएका छ । उक्त सुर्तिबाट ब्राण्ड बिनाको सुर्ति तयार गरी राजश्व चुहावट गरेको कसुरमा ५१ लाख ८६ हजार ७ सय ४४ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

अभियुक्तहरुलाई राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा १(छ१) बमोजिम जरिवाना र सजायको दाबी सहित मुद्दा दर्ता गरिएको विभागद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement