‘यो सरकार इट्टाभट्टामा जिउँदै मान्छे जलाउनेदेखि बलात्कारीसम्मलाई जेल हाल्न सफल भयो’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए । पोखरेलले भने, ‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’

उनले भने, ‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं । हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं । तर, म यो निर्वाचन परीणामबाट खुशी छु ।’

नेता पोखरेलले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए ।

उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दा पनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए । पोखरेलले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने, ‘यो सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमि फिर्ता गर्ने अडान लिएको छ । प्रधानमन्त्रीज्यूले एक ईन्च पनि नेपालको भूमि मिच्न दिइँदैन् भन्नुभएको छ ।’

नेता पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले भने, ‘सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ । १२ वर्षअघि जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो ।’

त्यतिमात्रै नभएर न्यायिक र प्रशासनिक क्षेत्रमा पनि सरकार अत्यन्तै सफल भएको पोखरेलको दाबी छ । सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेको पनि उनले जिकिर गरे । पोखरेलले भने, ‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ । सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं ।’

पोखरेलले भक्तपुर प्रदेशसभा (क)मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको दावी गरे । उनले भने, ‘हामीले पूर्व, पश्चिम नभनिकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन् ।’

पोखरेलले प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण नेपालमा पनि गर्न सकिने बताए । उनले भने, ‘नेपालको स्वास्थ्योपचार र चिकित्सक विश्वको कुनै पनि देशभन्दा कम छैनन् ।’

Advertisement

Advertisement

Advertisement